पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालीहरू किशोर अवस्थामै विदेश पलायन भइरहने कहिलेसम्म भनेर प्रश्न गरेका छन् ।
नेपाल उद्यमी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघको आसन्न राष्ट्रिय सम्मेलनको सन्दर्भमा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले अर्थतन्त्रका सतही कुराभन्दा रणनीतिक र संरचनात्मक रूपान्तरणका मुद्दामा विमर्श केन्द्रित गर्नुपर्ने जनाएका हुन् ।
उनले लेखेका छन्, ‘टाउकाको ओखती नाइटामा भनेझैँ अर्थतन्त्रका तत्कालीन र सतही कुरामा भन्दा रणनीतिक र संरचनात्मक रूपान्तरणतका मुद्दामा विमर्श केन्द्रित गरौंँ-१. हाम्रो औसत प्रतिव्यक्ति जीडीपी विश्वको भन्दा १० गुना कम छ । यसलाई विश्वको हाराहारीमा पुर्याउन केही दशक निरन्तर २ अंकको वृद्धिदर चाहिन्छ तर हाम्रो ४० वर्षको औसत वृद्धिदर ४% वरपर मात्र छ । जबकि हाम्रा छिमेकी र अरु एसियाली देशले यो बीचमा ठूलो फड्को हानिसके । २. सुगौली सन्धीयता हाम्रो वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएर १५ गुना नाघेको छ । खुला सीमानाबाट झण्डै आधा अर्थतन्त्र चुहिँदै आएको छ । सस्तो श्रम निर्यात र महंगो निर्मित वस्तु आयातको असमान सम्बन्धले राष्ट्रिय अर्थतन्त्र पूरै पराश्रित बनेको छ । बाच्छाले साँढेसँग जुध्न नसकेझैं हिजो औद्योगिक वस्तुमा परनिर्भर भएका हामी अब कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दैछौँ । हाम्रा उद्यमी व्यवसायी उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेर क्रमशः अरूको विचौलिया बनेर बाँच्ने बाध्यात्मक अवस्थामा पुग्दैछन् । देशको अर्थतन्त्र/राजनीति/राज्य विचौलियाहरूको कब्जामा गइरहेछ । हाम्रा छोराछोरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भइरहेछन् । यो कहिलेसम्म ?’





























प्रतिक्रिया