सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको समृद्धिको आधार सूचना प्रविधि बन्नसक्ने उल्लेख गर्दै संसारभर रहेका गैरआवासीय नेपालीहरुलाई यस क्षेत्रमा लगानी गर्न आग्रह गरेकी छन्।
अमेरिकास्थित नेपाली दूतावास र विश्व बैंकले आयोजना गरेको “कनेक्टिङ नेपाल विथ ग्लोबल डिजिटल इकोनोमी” विषयक कार्यक्रमलाई आइतवार राति भर्जुअल सम्बोधन गर्दै उनले सो आग्रह गरेकी हुन् ।
विश्व अर्थतन्त्रमा नेपालको विद्यमान अवस्थालाई पुनः परिभाषित गर्नका लागि नवप्रवर्ततन, अनुसन्धान र विकासमा लगानी गर्न उनले सूचना प्रविधि विज्ञहरू र व्यवसायीहरूलाई आग्रह गरिन् ।
‘हामीले सूचना प्रविधि क्षेत्रलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउन देशको व्यवसायिक वातावरणमा थप सुधार गर्नुपर्छ । यसका लागि सूचना प्रविधि, दूरसञ्चार, साइबर सुरक्षा र व्यक्तिगत डाटा सुरक्षासँग सम्बन्धित कानूनको संशोधन आवश्यक हुन्छ’ उनले भनिन्, ‘यसका लागि संस्थागत क्षमतामा सुधार र सार्वजनिक र निजी क्षेत्रबीचको संवाद समेत आवश्यक हुन्छ ।’
मन्त्री शर्माले नेपालको विकास प्रक्रियामा सूचना प्रविधिको क्षेत्रमा विशेषज्ञता हासिल गरेका विज्ञहरु तथा ब्यवसायीहरुको सहयोगवाट देशको अर्थन्त्रलाई नयाँ उचाईमा पुर्याउन, रोजगारी सिर्जना गर्न यस क्षेत्रमा बजारको मागअनुसार अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय जनशक्ति विकास र आपूर्ति आवश्यक उल्लेख गर्दै नेपालमा यसको लागि अनुकुल वातावरण तयार गर्न सरकार क्रियाशील रहेकाले लगानी तथा सहयोगका लागि आग्रह गरेकी छन् ।





























प्रतिक्रिया