‘नेपाल विश्वभर कोरोनाबाट ज्यान गुमाउने मुलुकमा १२० औँ स्थानमा पर्छ’–उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल (भिडियाेसहित)

‘नेपाल विश्वभर कोरोनाबाट ज्यान गुमाउने मुलुकमा १२० औँ स्थानमा पर्छ’–उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले बुधबारदेखि लकडाउनलाई हटाउँदै अधिकांश क्षेत्रलाई सञ्चालनमा ल्याएको छ । लकडाउन खोलेसँगै मानिसहरुको आवागमन बढेको छ । यसबाट संक्रमणको जोखिम पनि बढेको छ । त्यस्तै भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक तथा बाह्य उडानलाई खोल्ने तयारी पनि सरकारले गरेको छ । यसबाट झनै बढी संक्रमणको जोखिम बढ्ने देखिन्छ । मानिसहरुको जीवन र आर्थिक गतिविधिहरुलाई अगाडि बढाउन पनि आवश्यक छ । त्यसका लागि लकडाउन खोल्नै पर्ने हुन्छ । तर संक्रमणको जोखिम बढ्ने सम्भावना भएकाले सरकारले विशेष तयारी गर्नुपर्छ । लकडाउन अवधिभर सरकारले कुनै तयारी गरेको देखिँदैन । सम्भावित संक्रमणको जोखिमलाई व्यवस्थापन गर्न सरकारले कस्तो तयारी गरेको छ । यसै विषयमा केन्द्रीत रहेर उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलसँगको विशेष कुराकानी ।

प्रस्तुत छ पूरा अंशः
सरकारले लकडाउन खोलेको घोषणा गरेको छ । कोरोना संक्रमणको जोखिम कम भएकाले लकडाउन खोलिएको हो ?

सबैभन्दा पहिले लकडाउन खोलेको भन्ने समाचार आएको छ यसमा म के भन्छु भने हामीले प्रचलित शब्दलाई प्रयोग गरेर लकडाउन भन्यौं । लकडाउनको कुरा गरी रहँदा मान्छेको दैनिक जीवन र आर्थिक गतिविधिलाई पनि ख्याल गर्नुपर्ने भएकाले खासगरी संक्रमणलाई प्रभावित बनाउने विषयलाई ख्याल गरेर अरु कतिपय कुराहरुमा लचक हुनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका हौँ । पहिलेदेखि नै हामीले कृषि उत्पादन, औद्योगिक उत्पादनका सामग्रीहरु ल्याउने र आपूर्तिको प्रणालीलाई ठिक ढंगले चलाउने भन्ने कुरा गरेका थियौँ । अहिले पनि हामीले कुनै पनि शैक्षिक संस्थाहरु खोलेका छैनौँ । सभा सम्मेलनहरु हुन दिएका छैनौँ । मनोरन्जन स्थलहरु बन्द छन् । त्यस्तै सैलुन, स्पा सञ्चालन गरिएको छैन् । नाचघरहरु तथा सिनेमा हलहरु पनि बन्द गर्ने कुराहरुलाई हामीले कायम नै राखेका छौँ । त्यतिमात्रै होइन अन्तर जिल्ला सार्वजनिक यातायात पनि खोलेका छैनौँ । निश्चित पोर्टोकललाई मेन्टेन गरेर सार्वजनिक यातायातहरु जिल्लाभित्र चल्ने कुरा गरेका छौँ । यसको अर्थ लकडाउनलाई हामीले खुकुलो बनाएका छौँ र खुकुलो किन बनाएका छौँ भन्दा मान्छेका दैनिक जीवनहरुलाई सञ्चालन हुन दिन प¥यो र आर्थिक कारोबारहरुलाई अगाडि बढाउने उद्देश्य राखेर गरेको हो । अब बोलिचालिमा लकडाउन खुल्यो भन्ने छ । मान्छेहरुको आवागमन त हामीले पहिलेदेखि नै सहज बनाएका हौँ । यो कुरा गरिरहँदा समाजिक दूरी कायम गर्ने, सेनिटाइजेसनको कुरामा ख्याल गर्नुपर्ने र परीक्षणलाई अगाडि ढाउनुपर्ने कुराहरुमा हामीले जोड दिएका छौँ ।

लकडाउनको अवस्थामा समेत पर्याप्त तयारी हुन नसकेको देखिन्छ । अहिले लकडाउन केही खुलेको भएको अवस्था छ । यो समयमा अपनाउनुपर्ने सतर्कतामा सरकारले ध्यान दिएको छ ?

यो विषयमा अलिकति बुझाइमा सबै जना एक ठाउँमा आउन जरुरी छ । संक्रमणलाई रोकथाम गर्ने कुरा सरकारको आदेशको कुरा मात्रै होइन । कफ्र्यु जस्तो कुरा पनि होइन् । यो नागरिकहरुको सचेतनाको कुरा हो । हामी सबै नागरिकहरु आफू सुरक्षित हुन प¥यो, आफू संक्रमणबाट बच्न प¥यो तबमात्रै समाजलाई हामी बचाउन सक्छौं देशलाई बचाउन सक्छौं । नागरिकहरुको सचेतनाको कुरा पनि हो । हामी गैह्र जिम्मेवार भयौँ, हामी सामाजिक दूरीलाई कायम गर्दैनौं, हाम्रो बानिलाई सुधार गर्दैनौँ, हामी सेनिटाइजेसनको कुरामा ख्याल गर्देनौँ, हामी व्यायमका कुराहरुमा ख्याल गर्दैनौँ भने सरकारले आदेश जारी गरेर मात्रै संक्रमणलाई रोक्न सकिँदैन ।

लकडाउनलाई विस्तारै खोल्दै गएपछि हिजोआज सबै ठाउँमा भीडभाड बढेको छ । सरकारले किन जनतालाई कोरोना संक्रमणबारे सचेत गराउन सकेन ?

यसमा सरकारले गरिदिने के हो ? सरकारले त त्यसको बारेमा बताउने हो । जस्तो भनौँ हामीसँग परीक्षण गर्ने कुनै पनि ठाउँ नभएको बेलामा सरकारले पीसीआर परीक्षण गर्न मात्रै २८ वटा ठाउँमा सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म पीसीआर परीक्षण गर्ने ल्याब बनायौँ । कोरोना डेडिकेटेड हस्पिटलहरु स्थापना ग¥यौँ । स्वास्थ्य सामग्री र औषधिको व्यवस्था गर्नका लागि (जिटुजी) मार्फत हामीले सामग्री खरिद गरेर उपलब्ध गराउने काम ग¥यौँ । निजी क्षेत्रले ल्याउँछ भने त्यसलाई पनि प्रोत्साहन ग¥यौँ । म एउटा तथ्याङ्क भन्न चाहन्छु नेपालमा १८ हजार ९४ संक्रमण देखियो र अहिले संक्रमितहरु ५ हजार ३ सय ६८ छन । हाम्रो देशमा कूल संक्रमितहरुमध्ये ७० प्रतिशत भन्दा बढी निको भएका छन् । हामीले मृत्युको कुरा गरिरहँदा शुन्य दशमलव २३ प्रतिशत अर्थात ४२ जना मात्र हो । अहिले २ लाख ७ हजार ९ सय १८ क्वारेन्टाइन बनाएका छौँ । जसमा २० हजार ८ सय ४२ जना रहेका छन् । यो साउन ७ गतेसम्मको तथ्याङ्क हो । अहिले हामीले परीक्षणको लागि मात्रै २८ ठाउँमा पीसीआर परीक्षण गर्ने ल्याब स्थापना गरेका छौँ ।

नेपाल संसारको ४९ नम्बरमा पर्छ । कोरोना परीक्षण गर्ने मुलुमा ५० औँ नम्बरमा, कोरोना संक्रमणको हिसाबले ६३ नम्बर र कोरोनाबाट मृत्यु हुने हिसाबले १ सय २० औँ नम्बारमा पर्छ । दक्षिण एशियामा परीक्षण गर्ने मुलुकमा नेपाल अग्रस्थानमा पर्छ ।

जस्तो खालको अवस्था छ र साधन स्रोतको सिमितता छ त्यस्तो अवस्थामा हामीले यो व्यवस्थित गरेका छौँ । हामीले काठमाडौंदेखि सबै प्रदेशमा कोरोना लक्षित अस्पताल स्थापना ग¥यौँ । ल्याबहरु स्थापना ग¥यौँ । परीक्षणको कुरालाई हामीले त्यही ढंगले अगाडि बढायौँ । अब हामी समुदायमा पनि परीक्षण गर्नुपर्छ भन्ने हिसाबले गएका छौँ । अहिलेसम्म त साच्चै भन्ने हो भने बाहिरबाट आएका मानिसहरुको जुन ओभरफ्लो भयो भारतबाट झण्डै १० लाख मान्छेहरु आए होलान । म नलुकाइकन भन्न चाहन्छु हाम्रो क्वारेन्टाइको त्यस्तो व्यवस्था थिएन । यस्तो अवस्थामा व्यवस्थापन गर्न हामीलाई हम्मेहम्मे परेकै हो । अहिले क्वारेन्टाइनमा आएर बसेका मान्छेहरुको परीक्षण गर्ने कुरामा हामी केन्द्रीत भएका छौँ । अब समुदायमा पुगेर परीक्षण गर्ने कुरामा जानुपर्छ ।

लकडाउन खुकुलो बनाइएपछि मानिसहरुकोे सम्पर्क बढ्दै गएको छ । यो अवस्थामा सर्वसाधारण कसरी सुरक्षित रहने ? संक्रमणको जोखिम बढ्ने निश्चित देखिन्छ । यसको रोकथामका लागि सरकारको तयारी के छ ?

सबैभन्दा पहिलो मानिसहरुले सचेतनाको कुरामा ख्याल गर्नुपर्छ । संक्रमणबाट बच्नको लागि नागरिकहरु आफै सचेत भएनन भने सरकारको आदेशले मात्रै हुँदैन । त्यसपछि हाम्रो अस्पतालको प्रबन्धको कुरा हो । अस्पतालको प्रबन्ध अहिले जे अवस्था छ । त्यसअनुसार हामीले सरकारी अस्पताल, निजी अस्पताल, सरकारी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरु र निजी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सचेत गराएका छौँ । हामीले स्वाथ्यकर्मी र सुरक्षाकर्मीहरुको बीमा गर्ने, सतप्रतिशत भत्तादेखि ७५ प्रतिशत भत्तासम्मको व्यवस्था गरेका छौँ । हामीले हाम्रो परिवेस जे छ त्यही भित्रबाट गर्ने होला । हामीले यी चिजहरु गरेका छौँ । यसमा म अहिले पनि अनुरोध गर्न चाहन्छु कस्तो खतरकाको बीचमा स्वास्थ्यकर्मीहरुले काम गर्नुभएको छ । कस्तो खतराको बीचमा सुरक्षाकर्मीहरुले काम गर्नुभएको छ । दिनरात नभनी खटेका छन । उनीहरु संक्रमणमा पर्न सक्ने भएकाले हामी गर्न सक्दैनौँ भन्न सक्थे, हामी जान्नौँ भन्न सक्थे तर गएका छन् । मेरो भनाई के हो भने यो संक्रमण यो महामारी जुन छ यसको विरुद्धमा जुध्नको लागि सबै सरकार र सरकारभन्दा बाहिर रहेका सबै एकतावद्ध भएर लाग्न जरुरी छ । साझा काम हो भनेर ठान्नुपर्ने जरुरी छ । यो सरकारमा बस्ने रुलिङ पार्टीवालाहरुको मात्रै काम होइन ।

मैले विशेष जोड दिन के खोजेको हो भने हामी प्रतिकूल अवस्थामा अप्ठ्यारो अवस्थामा काम थाल्यौँ यो महामारीको विरुद्धमा जुध्न प्रारम्भ ग¥यौँ । अहिले हामी क्रमश त्यो अवस्थाबाट सुधार गर्दै अगाडि बढ्दै छौँ यसलाई हेर्नुप¥यो । सबैलाई जिम्मेवारी पूर्वक ढंगले यसमा लाग्नको लागि म अनुरोध गर्न चाहन्छु । यस्तो अवस्थामा जो जसले सहयोग पु¥याउनु भएको छ म उहाँहरुलाई सम्मान गर्न पनि चाहन्छु । तपाई एउटा घटना सम्झिनुहोस, चीनबाट आएका युवाहरुको कोरोना परीक्षण गर्ने रिएजेन्ट नभएको कारणले हङ्कङ पठाउनु परेको थियो । हामी त त्यो अवस्थामा थियौँ । त्यो अवस्थामा भएको नेपाल आज २८ ठाउँमा ल्याबहरु स्थापना गरेर सबै ठाउँमा पीसीआर परीक्षण गराउने कुरा हामी गर्देछौँ । यो त हामीले महत्वपूर्ण काम गरेका हौँ । हामीले कोरोना डेडिकेटेड हस्पिटलहरु स्थापना ग¥यौँ । हामीले राहतका कुराहरु ग¥यौैँ । भनेअनुसार भएन होला तर गर्न त गरेका छौँ नी ।

भदौ १ पछिको अवस्थालाई सरकारले कसरी हेरेको छ ? लामो दूरीका सार्वजनिक यातायात र हवाई उडानलाई पनि खोल्ने भनिएको छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय पहुँच पनि बढ्छ र संक्रमणको जोखिम पनि उच्च हुने सम्भावना हुँदैन ?
यसमा के छ भने कहिँ संक्रमणको अलिकति गम्भीर स्थिति देखिने वित्तीकै हामी ती ठाउँहरुलाई तुरुन्तै शिल गर्न सक्छौँ । हिजो लकडाउन गरिरहँदा अलिकति ध्यान नपुगेको के देखियो । सोलोडोलो सबै ठाउँमा एकनासले गरियो वास्तवमा त्यसमा हामीले अलिकति स्पेसिफाई गर्नुपथ्र्यो । अहिले पनि लकडाउनलाई खुकुलो बनाईरहँदा कतिपय ठाउँमा संक्रमणको स्थिति देखियो भने त्यो ठाउँ शिल हुन्छ । त्यहाँ मुभमेन्टहरु रोकिन्छ, गतिविधिहरु सबै रोकिन्छन त्यो ढंगले जानुपर्छ भन्ने हाम्रो योजना छ ।

अहिले लगभग सबै क्षेत्र सञ्चालनमा आएका छन् । लामो दूरीका यातायात र हवाई यातायातलाई पनि खोल्ने तयारी हुँदैछ । यी सबै क्षेत्रलाई सञ्चालनमा ल्याउँदा विद्यालयलाई खोल्ने तयारी किन गरिएन ?

हामीले अन्तरिक उडान र बाह्य उडानलाई सञ्चालन गरी सकेका होइनौँ । संक्रमणको यही स्थिति भयो भने हामी खोल्न सक्छौँ भनेर भनेका छौँ । त्यसलाई पनि स्पेसिफाई गर्न बाँकी छ । भदौ १ देखि सञ्चालन गरी सकेको होइन । यही अवस्थामा संक्रमणको स्थिति अलि कम हुँदै गयो भने हामी त्यसमा जान्छौँ भनेर भनेका हौँ । विद्यालयको कुरा के हो भने कन्सन्ट्रेटेड हुने ठाउँ हो । जस्तो सभा, सम्मेलन, भेला, पब्लिक कार्यक्रमका कुरा सबै बन्द छन् । त्यसैले विद्यालयमा हामीलाई के लागेको हो भने संक्रमणको डरलाग्दो क्षेत्र हो । तर संक्रमणको स्थिति घट्दै आयो र थोरै सावधानी अपनाउँदा पनि हुने स्थिति भयो भने केही सावधानी अपनाएर शैक्षिक संस्थाहरु पनि खोल्नुपर्ने हुन्छ । अहिले हामीले शैक्षिक संस्थाको हकमा के गरेका छौँ भने भर्ना, अभिलेख राख्ने, कक्षाहरुलाई आउने दिनमा कसरी व्यवस्थित ढंगले सञ्चालन गर्ने यो कामको लागि खुला गर्न खोजेका छौँ । हामीलाई भदौ १ गतेपछि त्यो गर्नुपर्छ कि भन्ने लागेको छ । त्यसबेलासम्म संक्रमणले कुन रुप देखाउँछ सोही आधारमा हामी तय गर्छौं ।

सरकारी विद्यालयहरुलाई त यो व्यवस्थाबाट ठिक भएको होला । तर यसले निजी विद्यालय र अभिभावक बीच द्वन्द्व हुने अवस्था आएको छ । यो समस्यालाई सरकारले नजरअन्दाज गरेको हो अथवा अरु केही तयारी हुँदैछ ?

निजी क्षेत्रसँग जोडिएर आएको यो समस्याको बारेमा शिक्षा मन्त्रालयले अभिभावकका भनाइहरु निजी क्षेत्रबाट सञ्चालन भएका शैक्षिक संस्थाहरुको बीचमा पनि मन्त्रालयको तर्फबाट पहल गरेर सम्वाद गरेर समाधानको उपयुक्त प्रस्ताव बनाउँदै छ ।

भनेपछि हामी छिट्टै शुल्क पनि तोक्न सक्छौं ?
त्यसमा के गर्ने अभिभावकहरुले कति सम्झौता गर्ने भन्ने हो । निजी क्षेत्रका विद्यालयहरु पनि समस्यामा त हुन्छन् अनि अभिभावक पनि अप्ठ्यारोमा पर्छन । त्यसकारण हामीले दुवैको समस्यालाई ख्याल गर्नुपर्छ भन्ने हो ।

अन्त्यमा केही भन्नु छ ?
नेपाल सरकारको प्रवक्ताको तर्फबाट सञ्चार माध्यमहरुलाई सार्वजनिक गरिएको भनाइमा पनि आएको छ । लकडाउन भन्ने वित्तीकै यसका नकारात्मक सोचहरु तथा गतिविधिहरु पनि हुने भएकाले हामीले त्यो लकडाउन शब्द अहिले प्रयोग गर्दैनौँ भनेर उहाँले भन्नुभएको छ । त्यस्तै हामीले सावधानी के के मा लिन्छौँ भनेर निश्चित क्षेत्रका बारेमा बताउनुभएको छ । शैक्षिक संस्थाहरु, सार्वजनिक सभा समारोहहरु, मनोरञ्जनका गतिविधिहरु र खेलकूदका कार्यक्रमहरु अहिले हुँदैनन् । ती कुराहरु अर्को मिति नतोक्दासम्म हुँदैन भनेर भनिएको छ । यसको अर्थ के हो भने हामी ती सबै कुरामा सावधानीमा छौँ ।

सार्वजनिक यातायातको बारेमा निश्चित मापदण्ड पालना गरेर मात्रै जिल्लाभित्र सञ्चालन गर्छौं तर लामो दूरीका सार्वजनिक यातायात चलाउनुभन्दा पहिला निश्चित सावधानी अन्तर्गत मात्रै रहेर गर्ने भनेर भनिएको छ । औद्योगिक उत्पादनहरु, कृषि उत्पादनका वस्तुहरुलाई बजार ल्याउने कुराहरुमा पनि हामी लचक छौँ । यसमा के जोडन चाहन्छु भने हामीमा आज कोरोना संक्रमणको महामारीबाट जुन आतंक सृजना भएको छ । त्रसित हुनुपरेको छ यदि हामीले आर्थिक गतिविधिलाई व्यवस्थित ढंगले अगाडि बढाएनौ भने आजको महामारी भोली भोकमरीमा परिणत हुँदा डरलाग्दो परिणाम भोग्न हामी बाध्य हुनेछौँ । त्यसकारणले त्यो नहोस भन्नका लागि पनि हामीले यो गरेका हौँ ।

म सबै जनसमुदायलाई के भन्न चाहन्छु भने संक्रमणको विरुद्धमा जुध्ने कुरा केवल सरकारको, सरकारी संयन्त्रको मात्रै काम होइन आम नागरिकहरुको काम पनि हो । नागरिकहरुमा सचेतना नहुने हो, नागरिकहरुले सरकारलाई सकारात्मक ढंगले नसघाउने हो भने यो संक्रमण विरुद्धको लडाईमा हामी जित हासिल गर्न सक्दैनौँ । आजसम्म जनताको सकारात्मक प्रतिक्रिया पाएका छौँ साथ समर्थन पाएका छौँ यसकै कारणले नेपाल संक्रमणको चपेटामा परेको भएपनि कम संक्रमण भएको मुलुकमा छ । मैले अघि प्रस्तुत गरेका तथ्याङ्कहरुका आधारमा संसारका संक्रमित देशहरुमा नेपाल तल छ । यद्यपी धेरै खालका हाम्रा सीमाहरु छन, समस्या छन । यति हुँदा हुँदैपनि हामी संक्रमणको ठूलो क्षति हुनबाट बचाइराखेका छौँ । जनताको साथ सहयोग नभएको भए स्वास्थ्यकर्मीहरुको योगदान नभएको भए सुरक्षाकर्मीहरु यसमा नलागेको भए यो हुने थिएन । त्यसकारणले सबैको साथ सहयोगले हामीले उपलब्धी हासिल गरेका छौँ । थप जोखिमबाट बचाउनको लागि सहयोगको आवस्यकता छ । अरु साथ सहयोगको लागि म अनुरोध गर्न चाहन्छु ।

Logo