उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन्।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले सङ्क्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताए ।
शनिबार काठमाडौँमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरू भइरहेको उल्लेख गर्दै त्यसलाई असफल पार्दै अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले भने,‘हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौँ । संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष बितिसक्यो। तर हामीले यो काम पूरा गरेका छैनौँ । र, यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रूपमा विभिन्न प्रयत्नहरू भइराखेका छन् । त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकी कामलाई पूरा गर्नु छ ।’
एक दशक भन्दा बढी समय बित्दा पनि संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाको बाँकी कामले पूर्णता पाउन नसकेकाले अहिले त्यसलाई पूरा गर्न क्रियाशील हुनु परेको उनको भनाई थियो ।































प्रतिक्रिया