नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उपमहासचिव गुरुङले सो प्रकरणमा सरकारले लिएको अग्रसरतालाई सहयोग र समर्थन गर्न तयार रहेको बताएका हुन् ।
“नेकपा एमाले सरकारको काममा सहयोग र समर्थन गर्न तयार छ, हामी सहयोग र समर्थन गर्न चाहन्छौँ”, उनले भने, “सरकारले जुन खालको छानबिन र अनुसन्धान सुरु गरेको छ, विधि र कानुनको शासन मान्ने तथा भ्रष्टाचारमुक्त नेपाल अभियान मान्ने प्रतिबद्ध भएको पार्टीको सांसदको हैसियतले यो छानबिन र अनुसन्धानलाई सरकारले दायाँबायाँ वा तलमाथि नगरी, दोषीहरु कोही पनि नछुटून्, निर्दोष व्यक्ति कोही पनि परोस् भनी लागोस् ।”
यस घटनामा संलग्न भनिएका पार्टीका सांसद टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको उपमहासचिव गुरुङले सदनलाई जानकारी गराए ।
मन्दीमा फसिरहेको अर्थतन्त्रलाई उकास्ने प्राथमिकता र सिद्धान्त आउनुपर्नेमा जोड दिँदै उनले नीतिगत, संरचनागत र सिद्धान्ततः प्रस्ट हुनेगरी प्राथमिकता नआएको बताए । “बजेटले आत्मविश्वास जगाउनुपर्छ, त्यो विश्वास जगाउने प्रयास प्राथमिकतामा देखाउन सकेको छैन”, उपमहासचिव गुरुङले भने ।
उनले फजुल खर्च कम गर्न, सङ्घीय तथा प्रदेश सरकारका मन्त्रालयका सङ्ख्या घटाउन र विभागलाई पनि घटाउन सुझाव पनि दिए ।





























प्रतिक्रिया