शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले पाठ्य पुस्तक समयमै पु-याउनु पर्ने सम्बन्धमा मन्त्रालयले निर्देशन अनुसार काम गरेको बताएका छन् ।
शुक्रबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री राईले पाठ्य पुस्तकको विषयमा विगतमा जस्तो गुनासो नरहेको भन्दै कुनै पनि खालको कमी कमजोरी नभएको बताएका हुन् ।
उनले भने, ‘शैक्षिक सत्र २०८० मा सामुदायिक विद्यालयहरुमा पाठ्य पुस्तक समयमै पु-याउनु पर्छ भन्ने सम्बन्धमा समितिको निर्देशनलाई मन्त्रालयले आत्मसाथ गरेर काम गरेको छ । विगतमा जस्तो गुनासो नरहेको अवस्था छ । अब कुनै किसिमको कमी छ भने निर्देशनको अपेक्षा राख्दछौँ । यसमा हामीले गाँउपालिका महासंघ, नगरपालिका संघ र जिल्ला विकास समन्वय समिति महासंघ साग पनि सहकार्य गरेका थियौँ।’
मन्त्री राईले शिक्षा ऐन अहिले सबैको चासोको विषय भएको भन्दै यसको प्रक्रिया सरकार परिवर्तन भएको कारण फिर्ता आएको हुनाले केही समयमा पारित हुने अठोटका साथ अघि बढेका बताए ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पनि प्रधानमन्त्रीले शिक्षा ऐनलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको भन्दै ऐन चाँडै आउने विश्वास व्यक्त गरे । उनले सबै स्थानमा पुस्तक पुगेको भन्दै नपुगेको स्थानबाट सूचना प्राप्त भए अनुसार काम भएको बताए ।































प्रतिक्रिया