तीन दलका शीर्ष नेताको बैठकलाई लिएर रास्वपाको आशंका

तीन दलका शीर्ष नेताको बैठकलाई लिएर रास्वपाको आशंका

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरु बसेर नक्कली भूटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ । 

आइतबार साँझ  बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरूको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्टाउने प्रयास गर्नु नहुने निष्कर्ष निकालेको हो। 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्नु नहुने बताए । उनले आफ्नो पार्टी राजनीतिक लेनदेनमा नबस्ने भन्दै संसद् प्रभावकारी बनाउनुपर्ने बताए । 

‘तीन दलका शीर्ष नेताहरू बसेर संसदलाई बन्दी बनाउन पाइँदैन । संसदबाट हुनुपर्ने काम कारबाही र निर्णय संसदबाट नै हुनुपर्छ ’, उनले भने, ‘तर तीन दल कुनै न कुनै हिसाबले भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन्, बाहिर आएको कुरा छ, त्यो घटना मिलाउनका लागि तीन दल बस्नु भएन, हामी उहाँहरूसँग चारौँ दल भएर राजनीतिक लेनदेन गर्नेछैनौँ । भ्रष्टाचारका मुद्दालाई मिलेमतोमा कमजोर बनाउन पाइँदैन । आवाज उठाउने सबैभन्दा मुख्य ठाउँ संसद् नै हो, यदी त्यहाँ बन्द गरियो भने हामी सडकमा गएर भए पनि आवाज उठाउनेछौँ । राजनीतिक पार्टीहरू अब फेरि बचाउन लाग्नेतिर जानुहुन्छ भन्ने लाग्दैन ।’  प्रमुख सचेतक परियारले लोकतन्त्रलाई बलियो बनाउने र प्रभावकारी बनाउने हो भने सबै राजनीतिक पार्टीहरूलाई हैसियत अनुसारको समितिको नेतृत्व दिनुपर्ने स्पष्ट पारे । 

Logo