माधव नेपालका लागि प्रचण्डसँगको गठबन्धन ‘माछो माछो भ्यागुतो’

माधव नेपालका लागि प्रचण्डसँगको गठबन्धन ‘माछो माछो भ्यागुतो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सबैभन्दा भित्तामा पुर्याइएका नेता हुन् माधवकुमार नेपाल । तत्कालीन नेकपा एमाले हुँदा ओलीले सबैभन्दा कटु आलोचना गर्ने र छायाँ समेत मन नपराउने नेतामा नेपाल पर्थे । ओली स्वास्थ्य जाँच गर्न विदेश जाने बेला नेता नेपालले शुभ कामना दिँदा समेत ओलीले खुल्लम खुल्ला मरे हुन्थेव भन्ने मनमा छ होला के को शुभकामना दिनुपर्यो ? म शुभकामना–शुभकामना लिन्न भनेर अस्वीकार गरेका थिए । ओलीको पार्टी र सत्ता चलाउने शैलीबाट आजित भएका नेपालको मनलाई ओलीको त्यो व्यवहारले झन मर्माहत बनायो ।

पछि तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि ओलीको व्यवहारबाट रुष्ट भएका नेपाल पुष्पकमल दाहाल प्रचण्डको क्याम्पमा पुगे । अहिलेको नेकपा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको हो । ०७५ जेठ २ मा दुई पार्टी एकीकरण गर्ने सहमति भएको थियो । पार्टी एकता गर्दा पूर्व एमाले कित्तालाई ६० प्रतिशत र माओवादी केन्द्र कित्तालाई ४० प्रतिशत हात लागेको थियो । नेकपाले पाएको ६० प्रतिशतमा ओली पक्ष र नेपाल पक्षको समान ३० / ३० प्रतिशत हिस्सा छ । नेपाल पक्षको ३० प्रतिशत हिस्सामा वरिष्ठ नेता झलनाथ खनाल र पार्टी उपाध्यक्ष वामदेव गौतम समूह सामेल छन् । तर अहिलेको अवस्थासम्म माओवादी केन्द्रमा ४० प्रतिशत हिस्सामा प्रचण्ड एक्लैको एकाधिकार छ ।

पूर्व एमालेमा ओलीको अत्याचार र पेलेरै अगाडि बढ्ने प्रवृतिबाट आजित भएका वरिष्ठ नेता नेपाल–खनाल पक्ष ओलीसँग दूरी बढाएर प्रचण्डसँग निकट भए । नेपाल पक्षको साथ पाएसँगै प्रचण्ड पक्ष आफ्नो ४० र एमालेको ३० प्रतिशतले नेकपामा बलियो पकड जमाउन सफल भए । नेपाल–दाहाल पक्षको गठजोडले बेलगाम अगाडि बढी रहेका ओलीको ‘रेसलाई कन्ट्रोल’ गरेको थियो । उनीहरुको गठबन्धनले गत वैशाख ८ मा प्रधानमन्त्री ओलीले जारी गरेका दुई अध्यादेश फिर्ता लिन बाध्य बनाएको थियो । नेपाल–दाहालकाे दबाबका कारण वैशाख १२ मा अध्यादेश फिर्ता ल्याइएको थियो । साथै, प्रचण्ड निकट मानिने अग्नि सापकोटालाई सभामुखमा नियुक्त गर्न पनि ओली बाध्य भएका थिए । वास्तवमा ओली सुवास चन्द्र नेम्वाङलाई पुनः सभामुखमा दोहो¥याउन चाहान्थे । तर नेपाल–दाहाल गठबन्धनले ओलीलाई झुकाएको थियो । उनीहरुको गठबन्धन दिनप्रतिदिन झाँगिदै गएको बेला ओली पक्ष सशंकित भएको थियो । नेपाल–दाहाल पक्षको गठबन्धनको डुङगा निवार्ध अगाडि बढेको थियो । जुन ओली पक्षका लागि खतराको संकेत बनि रहेको थियो ।

नेकपाको स्थायी कमिटीको बैठक गत असार १० देखि जारी थियो । १० गतेको बैठकमा सात एजेण्डा तय गरिएको थियो । अर्को बैठक असार १२ मा बसेको थियो । १२ गतेको बैठकमा स्थायी कमिटी सदस्यहरुले बैठकको एजेण्डा बमोजिम आ–आफ्नो धारणा राखेका थिए । १३ गतेको बैठकमा पनि धारणा राख्ने कार्यक्रमले निरन्तरता पायो । १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती र १५ गते राष्ट्रिय धान दिवस परेकाले स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो । १४ गते ६९ औँ मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारतीय राज्य संयन्त्रले आफूलाई हटाउन चलखेल गरेको अभिव्यक्ति दिएका थिए । साथै, उनले भारतीय राज्य संयन्त्रलाई नेकपाभित्रैबाट सहयोग रहेको दाबी समेत गरेका थिए ।

प्रधानमन्त्री ओलीको तथ्यहिन अभिव्यक्तिले सत्ता र पार्टी सञ्चालन गर्ने नैतिक धरातल गुमेको भन्दै १६ र १७ गते बसेको स्थायी कमिटीको बैठकमा ओलीले तत्काल राजीनामा दिनुपर्ने आवाज उठेको थियो । प्रचण्डले पनि भारतीय राज्य संयन्त्रले नभइ आफूले राजीनामा मागेकाले अब प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडान राखेका थिए । त्यस्तै १८ गते केही बेरसम्म बसेको स्थायी कमिटीको बैठकमा पनि ओलीले राजीनामा दिनुपर्ने मागले निरन्तरता पायो । ओलीको सोही अभिव्यक्तिलाई लिएर कूल ९ जना रहेको सचिवालयमा ६ जना सदस्यले ओलीको राजीनामा मागेका थिए । त्यस्तै ४५ जना रहेको स्थायी कमिटीमा पनि ३० जना भन्दा सदस्यहरुले ओलीको राजीनामा मागेका थिए । जुन अडान गत शुक्रबारसम्म कायम नै थियो । एकलौटी पार्टी र सत्ता चलाएका ओली सचिवालय र स्थायी कमिटी बैठकमा दिनप्रतिदिन कमजोर हुँदै गए । आफू कमजोर भएकाले ओलीले पटक पटक स्थायी कमिटी बैठक स्थगित गर्दै आएका थिए । पार्टीभित्रको विवाद समाधान गर्न भन्दै ओली र दाहाल पटक पटक (वान टु वान) वार्तामा बस्दै आएका थिए । तर करिब एक महिनाको अवधिमा सहमतिको कुनै चुरो कुरो भेटिएन ।

ओलीले दुवै पद नछाड्ने दाहाल पक्षले जसरी पनि दुवै पद छाड्नु पर्ने अडान कायम राखिरहे । उनीहरुको आ–आफ्नो अडानका बीच गत असार १८ देखि आजका दिनसम्म ६ पटक स्थायी कमिटीको बैठक स्थगित भइसकेको छ । असार १८ देखि शनिबार बिहानसम्म दुवै पक्षको माथापच्ची जारी थियो । तर शनिबार सचिवालय बैठक मार्फत ओलीले नेपाल–दाहाल पक्षको चलिरहेको डुङ्गामा प्वाल पार्न सफल भएका छन् । दाहाल–नेपाल पक्षको डुङ्गामा प्वाल पार्न सफल भएसँगै प्रधानमन्त्री ओलीको सत्तामाथि आइ लागेको संकट तत्कालका लागि टरेको छ ।

नेकपा सचिवालयको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्नु पर्ने प्रस्ताव राख्दा झण्डै एक महिनादेखि राजीनामा दिनै पर्ने अडान राख्दै आएका दाहाल उनको समर्थनमा उभिएका थिए । यसले ओली र दाहाललाई एकै ठाउँमा ल्याएको छ । सचिवालयमा उनको समर्थनमा महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा रहेका छन् ।

त्यस्तै वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने मंसिरमा गर्ने भनिएको महाधिवेशन असम्भव भएको तर्क गरेका थिए । शनिबारको नयाँ खालको गठबन्धनले वरिष्ठ नेता माधव नेपालले फेरि धोका पाएका देखिएको छ । विगतमा पनि दाहालसँग मिलेर ओलीमाथि दबाब बढाउने गरेका नेता नेपाल अन्त्यमा दाहाल ओलीसँग मिल्दा धोका पाउने गरेका थिए । यसपटक पनि नेता नेपाललाई दाहालले साथ छोडिदिए । एक महिनासम्म ओलीले राजीनामा दिनुपर्ने अडानमा सबैभन्दा पहाड जस्तो उभिएका नेता नेपाल नै थिए । कुनै हालतमा यसपटक विगतको जस्तो नहुने भन्दै दाहालले नेपाललाई भरोसा दिइ रहेका थिए । तर मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा दाहालले समर्थन गरेपछि नेता नेपालमाथि कुठाराघात गरेका छन् । प्रचण्डको यस्तो व्यवहारबाट नेता नेपाल निरास भएका छन् । उनले आफूले फेरि पनि धोका पाएको महशुस गरिसकेका छन् । त्यसैले दाहाल ओलीको पक्षमा उभिने वित्तिकै सचिवालय बैठकमा नेता नेपालले ‘दुई जना मात्र मिलेर जाने कुरा गरे आफू देशव्यापी अभियानमा जान्छु’ भनेर चेतावनी दिएका थिए ।

नेता नेपालले पहिले पनि दुई अध्यक्षहरुको चोचो मोचो मात्र मिलेर नहुने भन्दै पार्टी विधान अनुसार चल्नुपर्ने माग राख्दै आएका थिए । नेता नेपालले पार्टी विधि र पद्धति अनुसार चल्नुपर्छ भन्दै यो सैद्धान्तिक र कार्यशैलीगत कुरा भएकोले यसको समाधानले मात्र पार्टीभित्र समाधान दिने उनको तर्क थियो । तर ओली र दाहालले आ–आफ्नो पद र भूमिका सुरक्षित गर्ने हिसाबले मात्र अहिलेको संकट समाधान गर्ने खालको दिशामा भएपछि नेता नेपाल असन्तुष्ट बनेका हुन् । झण्डै एक महिनादेखि निकै ठूलो शक्ति संघर्षमा लागेका नेता नेपालका लागि शनिबारको बैठकमा प्रचण्डले एकाएक पोजिसन बदलेसँगै अहिले पनि माछो माछो भ्यागुतो भएको छ ।

Logo