सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी सेवालाई सस्तो र गुणस्तरीय बनाउँदै सबैको पहुँचमा पुर्याउनुपर्ने बताएकी छिन् ।
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘स्पेक्ट्रम म्यानेजमेन्ट’को उद्घाटन गर्दै मन्त्री शर्माले सस्तो र गुणस्तरीय सेवा सबैको पहुँचमा पुर्याउनका लागि सेवा प्रदायक र नियामकले विशेष ध्यान दिनुपर्ने बताइन् ।
सरकार सूचना प्रविधिको पहुँच हुने र नहुनेको दूरी कम गर्न लागिपरेको जानकारी दिँदै उनले अझै पनि दूरदराजमा गुणस्तरीय मोबाइल सेवा नपुगेकातर्फ सेवा प्रदायकले सोच्नुपर्ने बताइन् ।
“दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहेको छ, तर राजस्व घट्दै आउने देखिएका छ, यसको कहाँनेर समस्या हो ? यसलाई कताबाट हल गर्नुपर्छ भन्ने विषयमा विशेष ध्यान दिन जरुरी छ”, मन्त्री शर्माले भनिन्।
कार्यक्रममा ‘अतिकम विकसित मुलुकमा दूरसञ्चारको बजारः चुनौती र आगामी बाटो’, ‘नेपालको सूचना प्रविधि बजारको वर्तमान अवस्था’, ‘नेपालको दूरसञ्चार बजारको विश्लेषण र डिजिटल अर्थतन्त्रमा यसको भूमिका’, ‘नेपालमा फाइभ-जीको बाटो’, ‘विकसित मुलुकमा फाइभ-जीको अभ्यास’, ‘नेपालमा फाइभ-जीको बजार’लगायत विषयमा छलफल भएको थियो ।





























प्रतिक्रिया