५७ दिनपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश हुँदै

५७ दिनपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश हुँदै

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका विरुद्धको प्रहरी अनुसन्धान टुंगिएको छ। सरकारी वकिल कार्यालय काठमाडौँमा प्रहरीले आजै (आइतबार) अनुसन्धान प्रतिवेदन बुझाउँदैछ। प्रहरीले पक्राउ परेका १६ जनासहित अन्य ३० अभियुक्त विरुद्ध संगठित अपराध र ठगि कसुर अन्तगर्तको मुद्दा चलाएको छ।

उनीहरुविरुद्ध राज्यविरुद्धको अपराध मुद्दा पनि चलाइने प्रहरीले जानकारी दिएको छ। केही अभियुक्तविरुद्ध किर्ते(लिखत सम्बन्धि कसूर) मुद्दा पनि चल्ने प्रहरीको भनाई छ। नक्कली शरणार्थीका नाममा ठगि भएको भन्दै १ सय ६ पीडितले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। मुद्दामा २६ करोड ८८ लाख ५७ हजार रुपैयाँ ठगि भएको भन्दै बिगो दाबी भएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले पक्राउ अभियुक्तविरुद्ध आकर्षित हुने जति सबै मुद्दा लाग्ने बताए। उनले भने,‘नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना पक्राउ परेका छन्। बाँकी फरार रहेका उनीहरुविरुद्ध आकर्षिक हुने जति सबै मुद्दा लगाइनेछ। अनुसन्धान करिब-करिब पुरा भएको छ। प्रतिवेदन आजै सरकारी वकिल कार्यालयमा पेश हुनेछ।’

पक्राउ अभियुक्तविरुद्ध मुद्दा चलाउने सन्दर्भमा शनिबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका उच्च अधिकृतहरू पटक-पटक बैठक बसेका थिए। बैठकमा अभियुक्तविरुद्ध राज्यविरुद्धको कसूर पनि चलाउने पर्ने सम्बन्धमा छलफल भएको थियो। यस बिषयमा बैठकमा सहभागि सबै उच्च प्रहरी अधिकृत सहमत भएको प्रहरीको भनाई छ। 

प्रहरीका अनुसार अभियुक्तविरुद्ध मुद्दा चलाउने चलाउने सन्दर्भमा आज बिहान पनि अनुसन्धानमा संलग्न उच्च प्रहरी अधिकृतबीच बैठक बसेको छ। अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकृतले भने,‘पक्राउ अभियुक्तविरुद्ध कुन/कुन मुद्दा चलाउने बिषयमा आज पनि बैठक बसेको छ। १० बजेसम्ममा यस बिषय टुंगिएला। त्यसपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश हुनेछ।’

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाई प्रोफाइललाई पक्राउ गरेको छ।

त्यसबाहेक धन्दामा संलग्न सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ।

प्रतीक थापा, नीरज राई, केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुथाथोकी र रमा थापा फरार छन्। प्रहरीले उनीहरुविरुद्ध पनि मुद्दा चलाउने तयारी गरेको छ। 

घटनामा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस सांसद आरजु राण, मञ्जु खाण, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई, महेश्वर न्यौपाने, राजेश बज्राचार्य, डा. अजयक्रान्ति शाक्य, नैनकला थापा, लीला जिसी, राजेश्वर स्थापितलगायत विरुद्ध भने तत्काल मुद्दा नचलाने निश्कर्षमा प्रहरी पुगेका छन्। घटनामा पक्राउ परेका अभियुक्तले उनीहरुविरुद्ध पनि बयान दिएका थिए। तर, ठोस प्रमाण फेला नपर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छैन। 

प्रहरीले घटनाको अनुसन्धान ५७ दिन अघिबाट सुरु गरेको थियो। १२ चैतमा घटनामा संलग्न भएको अभियोगमा प्रहरीले केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेको थियो। त्यसको तीन दिनपछि अर्थात १५ चैतमा प्रहरीले अर्का बिचौलिया सागर राईलाई पक्राउ गरेको थियो। २९ चैतमा सन्देश शर्मा पक्राउ परेपछि मात्रै प्रहरी संगठित अपराधमा मुद्या चलाउने निश्कर्षमा पुगेका थियो। त्यसपछि, इन्द्रजीत राई, टेकनारायण पाण्डे, बालकृृष्ण खाण लगायतका हाइप्रोफाइल पक्राउको सिलसिल सुरु भएको थियो। 

Logo