नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङबीच वादविवाद भएको छ ।
शनिबार अखिल नेपाल महिला सङ्घ अनेमसंघको दोस्रो पूर्ण बैठकमा उपमहासचिव रिमालले धरानका मेयर हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ भनेका थिए। त्यसपछि आज बिहानै मेयर हर्कले रिमाललाई भुसुनोको रूपमा चित्रण गर्दै भनेका थिए, ‘एमालेको एउटा भुसुनोले मुखबाट गोबर उकेलेछ।अब आउने चुनावमा यसलाई जनताले देखाइदिनेछन्।’
त्यसपछि नेता रिमालले आफूले यसअघि राखेको धारणाको बचाउ गर्दै काम गर्न ‘बहुलाउनै पर्ने’ बताएका छन् । उनले ०७२ सालको संविधान बहुलाएरै बनाएको, केपी ओलीले बहुलाएरै नाकाबन्दीको सामना गर्नुपरेको भन्दै मुलुकमा अब केही गर्न बहुलाउनै पर्ने बताएका हुन् ।
उनले लेखेका छन्-
०७२ सालमा संबिधान निर्माण गर्न हामी “बहुलाएरै” लागेका थियौं ।
त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली “बहुलाएरै” भिड्नु भएको थियो । जनताले साथ दिए, मुलुकले सफलता हासिल गर्यो ।
०७४ को चुनावपछि हामी “बहुलाएरै” काममा जोतिएका थियौं ।
आधा शताव्दीसम्म हाम्रो संप्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी … हामीले “बहुलाएरै” नक्सामा सामेल गर्यौं । सिंगो मुलुक एक ठाउँमा उभियो ।
अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन “बहुलाएर” लागेका छन् । सबैलाई ‘श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने … धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर!
म पनि काम गर्ने मामिला “बहुलाउने” मानिस हुँ ।
हो, मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भो !
फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरुको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु । म ति आलोचना स्वीकार्छु, धन्यवाद!





























प्रतिक्रिया