नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले भुटानी शरणार्थीका तस्करहरुले गृह मन्त्रालय नै कब्जा गरेको बताएका छन् ।
क्रान्तिकारी माओवादीले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा नेता गजुरेलले अहिलेसम्मको अनुसन्धानले ३२ जना संलग्न रहेको पत्ता लगाए तापनि अहिले सम्म १६ जनालाई मात्र पक्राउ गरिएको बताए ।
उनले भने, ‘गृह मन्त्री, पूर्व गृहमन्त्री, पूर्व सचिव लगायत गृह मन्त्रालयका पदाधिकारीहरु र उनीहरुका नजिकका मानिसहरु यसमा संलग्न रहेका छन् । यो नेपालकै इतिहासको घृणित घटना हो । अहिलेसम्मको अनुसन्धानले ३२ जना यसमा संलग्न रहेको पत्ता लगाएको छ तर अहिलेसम्म १६ जनालाई मात्र पक्राउ गरेको छ । यो सरकार, प्रहरी प्रशासन, गृह मन्त्रालयले आधा मान्छेलाई गिरफ्तार नै गरेको छैन । नगरेको हो कि गर्न नचाहेको हो केही बुझ्नै सकिएको छैन । ’
कार्यक्रममा पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले यो प्रकरणमा जोडिएका सबैलाई तान्नु पर्ने बताए । उनले भने, ‘पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री र गृहमन्त्रीका सल्लाहकार सहितको टोलीको सहभागितामा यो षडयन्त्र रचिएको रहेछ, यस प्रकरणमा पछाडि तर्फमात्र आज आएर उजागर भएको छ । यो उजागर भएको विषय वस्तुमा अलिअलि लहरा तानतुन गरिएको छ तर कहाँ सम्म पुग्ने विषय हो भन्ने बारेमा कसैलाई थाहा छैन ।’





























प्रतिक्रिया