नेकपा विवाद उस्तै : घुमीफिरी सचिवालय

नेकपा विवाद उस्तै : घुमीफिरी सचिवालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपाले शुक्रबार स्थायी कमिटी बैठक दुईपटक तोक्यो । असार २६ मा एक साता बैठक रोक्ने निर्णय गर्दै नयाँ मिति शुक्रबार बिहान ११ बजेका लागि तय भएको थियो । तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल चलिरहेको भन्दै स्थायी कमिटी सदस्यलाई दिउसो ३ बजे बैठक बस्ने सन्देश पठाइएको थियो।

अध्यक्ष दाहाल बिहान साढे १० बजेतिर प्रधानमन्त्री ओलीसँग संवादका लागि बालुवाटार पुगेका थिए । दुई नेताबीच अपराह्न १ बजेसम्म कुराकानी भयो । त्यसबीच स्थायी कमिटी सदस्यले अर्को खबर पाए– बैठक साउन ४ गते दिउँसो ३ बजेसम्म स्थगित।

त्यसो भए अब के त ? घुमिफिरी सचिवालय बैठक । शनिबार सचिवालय बसेर आइतबार मात्रै स्थायी कमिटी बोलाउनेतिर ओली–दाहाल पुगेको बालुवाटार स्रोतले बतायो ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सहमतिकै प्रयासका लागि सचिवालय बैठक बोलाइएको पुष्टि गरे । ‘उहाँहरू (ओली–दाहाल) बीच फेरि सहमतिको एकपटक प्रयास गरौं अनि स्थायी कमिटी बैठकलाई पनि कसरी टुंग्याउने भन्ने विषयमा छलफल गर्न सचिवालय बसौं भन्ने भएपछि सचिवालय बैठक बोलाइएको हो’, नेता पौडेलले भने।

त्यसो त ओलीले अघिल्लो दिन दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष आफूले कुनै पनि पद नछोड्ने, बरु पार्टी स्थायी कमिटी र केन्द्रीय समिति बैठक ‘फेस’ गर्न तयार रहेको बताएका थिए । ओली शुक्रबार भने विवादित विषय जस्ताको तस्तै केन्द्रीय समितिमा लैजाने विषयमा सहमत देखिएनन्।

बालुवाटार स्रोतका अनुसार ओलीले दाहालसँग सचिवालयमा मिल्ने विषय सचिवालय, स्थायी कमिटीमा मिल्ने विषय स्थायी कमिटी र केन्द्रीय समितिमा लैजाने विषय केन्द्रीय समितिमा लैजाने गरी जानुपर्ने प्रस्ताव गरे। तर, विषयलाई स्थायी कमिटीमा निर्णय नगरी केन्द्रीय समितिमा लैजान नसकिने अडान लिएको स्रोतले जनाएको छ।

बालुवाटारसँग अर्को सूचना पनि थियो– दाहाल र नेपाल समूहमा रहेको भनिएका उपाध्यक्ष वामदेव गौतम तत्काल प्रधानमन्त्री हटाउने पक्षमा छैनन् । गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा पनि ४ मंसिर २०७६ कै दुई अध्यक्षको कार्यविभाजनकै व्याख्या गरेर जानुपर्ने पक्षमा छन्। यही सूचनाका आधारमा ओली स्थायी कमिटी र केन्द्रीय समितिभन्दा पनि एकपटक सचिवालय बैठक बोलाएर छलफल गराउन चाहन्थे । दाहालसँग ओलीले भने, ‘अहिले केन्द्रीय समितिभन्दा पनि सचिवालयतिर छलफल गरौं। स्थायी कमिटी बैठकलाई कसरी समाप्त गर्ने, त्यसको रोडम्याप सचिवालयमा बसेर छलफल गरौं।’

ओलीको यही प्रस्तावपछि दाहाल स्थायी समिति दुई दिन पछि सारेर सचिवालय बोलाउन तयार भएको उच्च स्रोतले जनाएको छ। दुई अध्यक्षले दुई साता लगातार नौ पटकभन्दा बढी छलफल गर्दा पनि नेकपाको किचलो मिलेको छैन। नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामाका विषयमा मिलनबिन्दुको छेउटुप्पो फेला पार्न सकेका थिएनन्। जसकारण दाहाल र नेपाल पक्ष अब पार्टी बैठक रोकेरभन्दा पनि विधि र पद्धतिका आधारमा निर्णय लिनुपर्छ भन्ने निष्कर्षमा पुगेका थिए।अन्नपूर्णबाट

Skip This
Skip This
Logo