सात दिनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न दलहरुलाई सभामुखको निर्देशन

सात दिनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न दलहरुलाई सभामुखको निर्देशन


सभामुख देवराज घिमिरेले संसदीय समितिको नेतृत्वबारे दलहरुको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा सभामुख घिमिरेले संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति नलिएको भन्दै दलहरुको गम्भीर ध्यानाकर्षण गराएका हुन् । उनले सात दिनभित्रमा सहमतिमा समितिहरुको सभापति चयन गर्न पनि निर्देशन दिएका छन् । 

'संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिएको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ । ' उनले भने, 'सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिएको छैन । तपाईंहरुले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रिया (निर्वाचन)बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस् ।' 

गत १९ चैतमा  प्रतिनिधि सभा नियमावली २०७९ पारित भएपछि १५ वैशाखमा प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन गरिएको थियो । यसपछि २ जेठमा प्रतिनिधिसभाका १० वटा विषयगत समितिको पहिलो बैठक बसेको थियो भने बैठकको सभापतित्व ज्येष्ठ सदस्यले गरेका थिए । 

Logo