काठमाडौं ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छैटौंपटक भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । यसले गर्दा नेकपामा राजीनामा प्रकरण बल्झिएको छ भने विवाद चुलिँदै गएको छ ।
प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा दिन प्रचण्डले आग्रह गरे पनि दुवै पदबाट राजीनामा नदिने अडान ओलीले राख्दा सहमति जुट्न नसकेको हो । दुई अध्यक्षबीच सहमति जुट्न नसकेपछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसमेत सहभागी भएको छलफलमा सहमतिभन्दा पनि झन् विवाद चुलिएको छ ।
राजीनामाको एजेन्डाबाट पछि हटेर अध्यक्षको जिम्मेवारी दिए विवाद मिल्ने संकेत गरेका प्रचण्डले पुनः ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडान दोहोर्याएका छन् । जसले गर्दा नेकपाभित्र टर्न लागेको राजीनामाको विषय फेरि बल्झिएको हो ।
बैठकमा प्रचण्ड र नेपालले ओलीले राजीनामा दिनै पर्ने पूर्ववत् अडान दोहोर्याएपछि बैठक निष्कर्षविहीन बनेको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले बताए । करिब साढे २ घण्टा चलेको बैठकमा आ–आफ्नै अडान कायम भएपछि बैठक सकिएको थियो ।
बुधबारसमेत करिब ३ घण्टा ओली–प्रचण्डबीच वार्ता भए पनि कुनै सहमति जुट्न सकेको थिएन । शुक्रबार बस्ने स्थायी समिति बैठक अघि सहमतिको बिन्दु पहिल्याउन ओली र प्रचण्डबीच भएका यस अघिका वार्तामा ओलीले राजीनामा नदिने अडान राखेपछि सहमति जुट्न सकेको छैन । गत असार १६ गतेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरूले दुवै पदबाट ओलीलाई राजीनामा दिन सुझाव दिए पनि प्रधानमन्त्री ओलीले राजीनामा नदिने अडान राख्दै आएका छन् ।
नेताहरूबीच पार्टी एकता अघिको २०७५ जेठ २ मा भएको सहमति अनुसार अघि बढ्ने कि २०७७ मंसिर ५ को सहमति अनुसार अघि बढ्ने भन्नेमा कुरा मिल्न सकेको छैन । प्रचण्ड–नेपाल पक्षले दुईवटा सहमतिलाई आधार बनाएर अगाडि बढ्नु पर्ने विषय अगाडि सारे पनि ओलीले स्वीकार नगर्दा नेकपाको विवाद झन् गहिरिँदै गएको छ ।
०७५ जेठ २ मा ५ वर्षे कार्यकालमा आधा–आधा समय ओली र प्रचण्डले सरकारको नेतृत्व गर्ने, मंसिरमा पूरै समय ओलीले सरकारको नेतृत्व गर्ने र पार्टीको एकता महाधिवेशनसम्म प्रचण्डले पार्टी नेतृत्व गर्ने सहमति भएको थियो । त्यसै गरी नेपालले यसअघि नै एक पद एक जिम्मेवारी लागू गर्नुपर्ने भन्दै सचिवालय बैठकमा नोटअफ डिसेन्ट राखिसकेका छन् ।
पटक–पटक भएको वार्तामा पनि ओलीले सहमति गर्ने संकेत नदेखाएपछि बिहीबार प्रचण्डले आफ्नै निवास खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापासँग छलफल गरेका थिए ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले यदि प्रधानमन्त्री ओली सहमतिमा नआए स्थायी कमिटी बैठक बस्ने र निर्णय गरेर अगाडि बढ्नुपर्ने बताए । उनले भने– ‘कि ओलीजी सहमतिमा आउनुपर्यो कि पार्टीको निर्णय मान्नुपर्यो, सधैं स्थायी कमिटीको बैठक स्थगित गरेर अनिर्णयको बन्दी बनाउन मिल्दैन, अब पार्टीले गरेको निर्णय मान्न तयार हुनुपर्छ ।’
ओलीको कार्यशैली र अभिव्यक्तिले पार्टी र सरकार दुबै संकटमा परेको निष्कर्ष निकाल्दै प्रचण्ड, नेपाल पक्ष ओलीलाई प्रधानमन्त्रीबाट सकेसम्म हटाउने रणनीतिमा लागे पनि ओलीले हटाउन चुतौती दिँदै आएका छन् ।
लिम्पियाधुरासहित नेपालको भू–भाग समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि पार्टी नेताहरूलाई प्रयोग गरेर भारतले सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति रुष्ट हुँदै जारी स्थायी समिति बैठकमा एकाएक दुवै पदबाट राजीनामा दिनुपर्ने पक्षमा बहुमत नेताहरू उभिएपछि विवाद शुरू भएको हो ।
केही दिनअघि अयोध्या नेपालमा पर्ने र भगवान् राम पनि नेपालमै जन्मिएको अभिव्यक्ति दिएपछि ओलीको देशभित्र र बाहिर पनि आलोचना भएसँगै नेकपाभित्र प्रचण्ड नेपाल पक्षले उक्त विषयलाई पनि जोडेर राजीनामाको मुद्दा बलियो बनाउँदै लगेका छन् ।नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया