राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुमान, अनुदान र ऋणमा आधारित बजेटले लक्ष्य अनुसार राजस्व प्राप्त नहुने बताएका छन् ।
आज पार्टी कार्यालयमा बसेको कार्य सम्पादनको बैठकपछि पत्रकारहरुसँग अध्यक्ष लिङ्देनले सरकारले ल्याएको बजेटले नेपालको आर्थिक अवस्थाको सम्बोधन र सामना गर्न नसक्ने बताएका हुन् ।
उनले भने, ‘बजेटको विषयमा पनि हाम्रो अवधारणा तय भएको छ, अहिले सरकारले जुन प्रकारको बजेट ल्यायो, नेपालमा जुन प्रकारको संकट आएको छ । बजेटले सम्बोधन गर्न सक्दैन्, सामना गर्न सक्दैन् । अनुमान, अनुदान र ऋणमा आधारित बजेटमा न लक्ष्य अनुसार राजस्व प्राप्त हुने वाला छ न भएको बजेट यो कार्यशैलीबाट प्रयोग हुन सक्छ । अर्थमन्त्रीले राजस्व बढाउने नाममा जुन प्रकारले करको दर र दायरा बढाउने प्रयास गर्नु भएको छ । त्यसले अर्थतन्त्रमा झन नकारात्मक प्रभाव पार्छ ।’
अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको भारत भ्रमणमा अखण्ड भारतको नक्सामा रहेको नेपालको भूमिको बारे कुनै कुरा नउठेको भन्दै आपत्ति जनाएको बताए ।
उनले भने, ‘भैंसी हाम्रो प्राथमिकताको विषय होईन्, प्रधानमन्त्री भारत भ्रमणमा जानु भयो उहाँले पनि यसलाई प्राथमिकता दिनु आवश्यक थिएन । अखण्ड भारतको जुन नक्सा राखिएको छ, नेपालको महत्वपूर्ण भूभागहरु समावेश गरिएको देखिन्छ, त्यसको बारेमा कुरा उठाउनु पर्ने थियो, उठाउनु भएन त्यसप्रति आपत्ति जनाएका छौँ ।’
अध्यक्ष लिङ्देनले बैठकमा विवादमा रहेका केही जिल्ला कार्य समितिहरुलाई विधान वमोजिम विघटन गर्ने, केन्द्रीय नेताहरुलाई तत्कालै भूगोल केन्द्रित जिम्मेवारीमा पठाउने र ७ दिनभित्र कार्य योजना बनाएर नेतालाई जिम्मेवारी दिएर पठाउने निर्णय भएको जानकारी दिए । उनले राप्रपाका मान्यता र जनजीविका सम्बन्धि मुद्दाहरुमा सरकारको ध्यानाकर्षण गर्न शान्तिपूर्ण नागरिक आन्दोलन अगाडि बढाउने खालको निर्णय भएको पनि जानकारी गराए ।





























प्रतिक्रिया