एमाले-काँग्रेसका नेताहरुकाे दाबीः ‘गाँजा खाएर क्यान्सर हुन्न, मान्छे पनि मर्दैन’

एमाले-काँग्रेसका नेताहरुकाे दाबीः ‘गाँजा खाएर क्यान्सर हुन्न, मान्छे पनि मर्दैन’

केन्द्रबिन्दु
0
Shares

चिकित्सक एवं विज्ञहरुले सूर्तिजन्य पदार्थको प्रयोगले क्यान्सर जस्तो प्राणघातक रोग मात्र नभइ नसर्ने अन्य रोगहरु पनि निम्त्याउने चेतावनी दिँदै गर्दा नेकपा एमाले र नेपाली काँग्रेसका नेताहरुले गाँजा खाएर कोही पनि नमर्ने बताएका छन् । एउटा चुरोटको खिल्लीमा हुने ४/५ हजार रासायनिक पदार्थले करिब ७० प्रकारका क्यान्सर निम्त्याउने विज्ञहरुले बताएपनि दुई शीर्ष दलका नेताहरुले भने गाँजा खाँदा क्यान्सर पनि नहुने तर्क गरेका छन् । 

आइतबार काठमाडौंमा आयोजित धूमपान र सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम नियन्त्रण, निदान र उपचार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्र बरालले क्यान्सरको मुख्य कारकतत्व सूर्तिजन्य पदार्थको प्रयोग भएको बताए । सूर्तिजन्य पदार्थले क्यान्सरमात्र नभएर नसर्ने अन्य सयौं रोगहरू पनि निम्त्याउने उनको भनाइ छ । 

उनले भने, ‘सूर्ति प्रयोग गर्ने युवाहरूको चाँडैनै गाला चाउरिने, आँखा अन्धोपन हुने, कान कम सुन्ने, हड्डीहरूमा प्वाल पर्ने, कम उमेरमै हड्डी खराब भएर हुने हुन्छ, भुटान धूमपानमुक्त देश हुँदा नेपाल किन हुन सक्दैन ? ‘कम्बोडिया, आयरल्यान्डमा सूर्ति पदार्थको खेति गर्न पाइदैंन, नेपालमा किन प्रतिबन्ध नलगाउने ?’ 

उनले नेपाल सूर्तिजन्य पदार्थमा एसियमा सबैभन्दा कम कर भएको मुलुक भएको बताए । नेपालमा सूर्तिजन्य वस्तुमा जम्मा ३८ प्रतिशत मात्र कर लगाउने गर्दा धूमपानविरुद्धको कानूननै फितलो बनेको बताए । 

पूर्वस्वास्थ्यमन्त्री तथा नेकपा एमालेका नेता शेरबहादुर तामाङले सरकारले सूर्तिजन्य वस्तुमा कर लगाएको र त्यो करले अस्पताल बनाएको भन्ने गरेको उल्लेख गर्दै भने, ‘क्यान्सर भन्सारबाट भित्र्याउने र त्यो क्यान्सर भित्र्याएको पैसाले अस्पताल बनाएको भन्नुको के अर्थ हुन्छ ?’

उनले सूर्तिजन्य पदार्थ नेपाल भित्रिनेमै प्रतिबन्ध लगाउनुपर्ने बताए । वार्षिक सूर्तिजन्य पदार्थ प्रयोगका कारणले क्यान्सर भएर २७ हजार मान्छे मर्ने बताउँदै उनले भने, ‘गाँजा खाएर १ जना पनि मर्दैनन् ।’

कार्यक्रममा नेपाली कांँग्रेसका नेता मीन विश्वकर्माले सूर्तिजन्य पदार्थ, व्यक्तिगत, पारिवारिक, सामाजिक, क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय सबै दृष्टिकोणले काम लाग्ने विषय नभएको बताए ।

उनले आफूले आजसम्म कुनै पनि प्रकारका सूर्तिजन्य वस्तुहरुको सेवन नगरेको उनले प्रष्ट पार्दै भने-‘९० प्रतिशत मानिसहरु सूर्तिजन्य पदार्थको प्रयोगबाट क्यान्सर पीडित भइराखेका छन् । देशको आर्थिक उन्नति र नागरिकहरुको स्वास्थ्य, सुख र समृद्धिमा पनि ध्यान दिन पर्यो । हामीले केही मौलिक निर्णय गर्नुपर्यो । हामीले गाँजा खानेलाई चाहिँ कारबाही गरिरहेका छौं । गाँजाले क्यान्सर पनि हुँदो रहेन छ । टाउको पनि दुख्दो रहेन छ । अल्सर पनि हुँदोरहेन छ । गाँजाले ब्लड प्रेसर र सुगर पनि बढ्दो रहेन छ । अलिकति सोच्नुपर्ने विषय छ,।’  

विकट बस्तीहरुमा चामल पुर्याउन नसकेको अवस्थामा लकडाउनका बेलामा औषधि र खाद्यान्न पुर्याउन नसकेको अवस्थामा पनि हेलिकोप्टरबाट चुरोट ओसारपसार गरिएकोसमेत नेता विश्वकर्माले स्मरण गराए । 

Logo