नेकपाको वर्तमान स्वरुप निर्माणमा थापाको योगदान अविस्मरणीय

नेकपाको वर्तमान स्वरुप निर्माणमा थापाको योगदान अविस्मरणीय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टीको वर्तमान स्वरुप निर्माणमा बालकुमारी थापाको योगदान अविस्मरणीय रहेको बताएका छन् । मुख्यमन्त्री पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै थापा नेपाली कम्युनिष्ट आन्दोलनका अभिभावक रहेको जनाउँदै नेकपाको वर्तमान स्वरुप निर्माणमा उनले पुर्याएको योगदानको चिरकालसम्म स्मरण रहिरहने उल्लेख गरेका छन् ।

‘उहाँको निधनले मकवानपुरे कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति भएको छ । उहाँको सङ्घर्ष, त्याग र समर्पण आगामी पुस्ताका लागि प्रेरणादायी छ । पार्टीकाा थुप्रै क्रियाकलाप तथा जनवर्गीय सङ्गठनको निर्माणमा उहाँको ठूलो योगदान रहेको छ । यस दुःखद् क्षणमा आदरणीय थापाप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’– पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

थापाले आफ्नो घरलाई २०३५ सालदेखि प्रजातन्त्रको स्थापनासम्म पार्टीको गतिविधि सञ्चालन गर्ने सुरक्षित सेल्टरका रुपमा प्रयोग गरेकी थिइन् । तत्कालीन समयमा नेकपा मालेका केन्द्रीय नेताहरु उनको घरमा सेल्टर लिन्थे । भूमिगत समयमा उनका घरमा भएको पार्टीको बैठकबाट आन्दोलनको रणनीति बन्थे, महत्वपूर्ण निर्णय हुन्थ्यो । अनेमसङ्घको स्थापना उनकै घरमा भएको जनाइएको छ । थापाको सोमबार निधन भएको हो । –रासस

Logo