काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतको हस्तक्षेपका कारण नेपाल डुबानमा पर्ने गरेको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री थापाले सो कुरा बताएका हुन् । भारतले सीमा क्षेत्रमा बनाएको बाँधरुपी सडकले नेपालको तराई क्षेत्रमा डुबान पार्ने गरेको मन्त्री थापाले बताए । भारतको हस्तक्षेपका कारण वर्षौदेखि नेपालले क्षति व्यहोर्दै आएको र त्यसलाई रोक्न नसक्दा नेपाल डुबानमा पर्ने गरेको उनको भनाइ छ । ‘वर्षौदेखि क्षतिहरु हामीले व्यहोरेका छौँ । यो बाह्य हस्तक्षेपको कारणले हो’–मन्त्री थापाले भने–‘बाह्य हस्तक्षेप रोक्न नसक्दा पनि हामीलाई डुबायो ।’ त्यस्तै मन्त्री थापाले थपे–‘भारतले समानान्तर रुपमा बाँध, बाँधरुपी बाटो बनाउँदा पनि हरेक वर्ष तराईमा डुबान हुने गरेको छ । यो एक ढंगले भारतीय पक्षले नेपालमा गरेको हस्तक्षेप नै हो । हामीले राजनीतिक रुपमा भन्दा त्यो हस्तक्षेप नै हो ।’
त्यस्तै मन्त्री थापाले भारत सरकारसँग पटक पटक भएका सन्धी सम्झौताहरु कार्यान्वयनमा नआउँदा समस्या आएको बताए । मन्त्री थापाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला अध्ययन समिति गठन गरिएको थियो । तर त्यो कार्यान्वयनको चरणमा जान सकेको छैन । नेपाल हुँदै भारततर्फ जाने नदीलाई भारतले निकास नदिँदा समस्या भएको उल्लेख गर्दै मन्त्री थापाले भारतले आफ्नो रक्षाका लागि बाँध बनाए पनि नेपालको राष्ट्रिय हितमा धक्का पुगेको बताए । भारतले नेपालसँग गरेको सन्धी, सम्झौताहरु कार्यान्वयन गरी यसको निकास दिनुपर्नेमा मन्त्री थापाको जोड छ ।





























प्रतिक्रिया