नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले गरीबको छोरालाई केही नदिंदा पनि जिम्बाबेमा गएर क्रिकेटमा अमेरिकालाई हराएको उदाहरण राज्यका लागि काफी हुन सक्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद भण्डारीले गाउँघरमा फल्ने फापर मकैको अपमान गरेर विदेशबाट कुहिएको चामल भित्र्याएर कस्तो संस्कार विकसित गर्दैछौँ भनेर प्रश्न पनि गरे । उनले भने, ‘हामीले धनी बन्ने नाममा हामीले उत्पादन गर्ने फापर मकैलाई अपमान गरेर यो हलो जोत्नेले खाने हो यो गरीबले खाने हो भनेर हामीले विदेशबाट कुहिएका चामल भित्र्याएका छौं । हाम्रो जुन कुराहरु थियो त्यो विस्थापित ग-यौं ।’
सांसद भण्डारीले नेपाली युवाहरुले अमेरिकालाई हराएर मुलुकका लागि गतिलो उदाहरण दिएको चर्चा गर्दै नेपालसँग सबै हुँदाहुँदै पनि कता लागिरहेका छौं भनेर प्रश्न गरे ।
‘के हुँदै छ हाम्रो शिक्षा । के हाम्रो शिक्षा अरु देशको कपीगर्ने हो । के हाम्रो मुलुकमा केही पनि छैन । हाम्रो मुलुकमा भएको कुरा विश्वभर ग्लोबल भिलेजमा पु-याउने हाम्रो दायित्व होईन ? हाम्रो पाठ्यक्रममा लैजाने हैन् ?आखिरमा गरीवको छोरा केही नदिँदा पनि जिम्बाबेमा गएर क्रिकेट खेलेर अमेरिकामा जित्दो रहेछ नि त । त्यसैले हामीसँग सबै कुरा छ नी । त्यसैले हामीसंँग भएको सबै कुरा विश्वमा फैलाउनु पर्दैन ? कता लागिरहेका छौं हामी।’ उनले भने ।
सांसद भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। ‘क्रिकेट ग्राउण्ड त बनाइ देऊ। कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौ। एकैचोटी बनाइ दिऊँ न,’ उनले भने, ‘बजेट छुट्टयाइ दिऊँ न तिनका लागि। जसले तिमीलाई पहिचान दिएको छ।’
उनले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए।





























प्रतिक्रिया