नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलहरीको विषयमा आफूलाई जोडिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
पत्नी राधिका शाक्यका साथ रोपाईं दिवसको कार्यक्रममा भाग लिन चितवन पुगेका अध्यक्ष ओलीले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग जलहरीको विषयमा भइरहेको विवाद आफूसँग सम्बन्धित नभएको बताएका हुन् ।
जलहरीको विषयमा आक्रोशित देखिएका उनले भने, ‘गम्भीर अवस्थामा गम्भीरतापूर्वक गम्भीर विषय उठाउनुहोला । जलहरीको सम्बन्धमा भएको के रहेछ ? पित्तल चढाएको रहेछ ? ११ किलो सुन खाएको रहेछ ? खाएको भए पनि मसित सम्बन्धित हो ? मैले त पैसा दिने हो, पशुपति विकास कोषलाई ।’
साथै अध्यक्ष ओलीले शिलान्यास, उद्घाटन गर्नेको नाम लेख्ने चलन सबैतिर भएकाले जलहरीमा आफ्नो नाम लेखिनु स्वभाविकै भएको पनि बताएका छन् । ‘शिलान्यास/उद्घाटन गरेको ठाउँमा उद्घाटन गर्नेको नाम लेखेको हुन्छ कि हुँदैन ? सरकारी सम्पत्तिमा बनाएका भवन आदि-इत्यादि कसका नाममा छन् ? त्रिभुवन विश्वविद्यालय त्रिभुवनको निजी खर्चबाट बनाएको हो ? वीरेन्द्र अस्पताल वीरेन्द्रको निजी खर्चबाट बनाएको हो ? अरु विभिन्न त्यस्तै… त्यो त मलाई थाहा हुने कुरा भएन ।’ उनले भने । ‘आफैं छानबिन गर्नुस् न । मसित किन सोध्नुहुन्छ ? मैले लगेर टाँसेको हो नाम ? मलाई सोधेर टाँस्या हुन् ? हल्लाका पछाडि हल्काफुल्का तरिकाले नकुद्नुस् ।’





























प्रतिक्रिया