खप्तडको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्छः प्रेम आले

खप्तडको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्छः प्रेम आले

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडको विकासका लागि सरकारले ठोस पहल चाल्नुपर्ने बताएका छन् ।

आज पर्यटन बोर्डमा एभरेष्ट ग्यालरीको आयोजनामा ‘दृश्यमा खप्तड’ विमोचन समारोहमा उनले सुदूरपश्चिम क्षेत्रमा रहेको खप्तड क्षेत्रको मात्रै विकास गर्न सके त्यहाँ विकासको ठूलो कायापलट हुने बताए। उनले भने,‘सरकारले खप्तड क्षेत्रको विकास गरे समग्र सुदूरपश्चिमको विकास हुनेछ, खप्तडलाई देश विदेशमा चिनाउने गरी विकासका पूर्वाधार निर्माण गर्नु जरुरी छ।’

पूर्वमन्त्री आलेले खप्तड क्षेत्रमा पर्यटकीय पूर्वाधारदेखि सडक, विद्युत्लगायतका सेवाको अति आवश्यक भएकाले सरकारले त्यहाँ पर्यटक भित्र्याउनका लागि सडकको पहुँच  पुर्‍याउन जरुरी भएको बताए। सुदूरपश्चिममा असङ्ख्य मात्रामा पर्यटकीय क्षेत्र रहेको भए पनि सरकारले ती क्षेत्रको विकास तथा विस्तारका लागि ठोस पहल चाल्न नसकेका कारण ती क्षेत्र ओझेलमा पर्दै गएको उनको भनाइ थियो।

आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएको समयमा सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि थुप्रै काम गरेको र बजेट पनि विनियोजन गरेको भए पनि आफू मन्त्रीबाट हटेपछि अहिले ती विकासका कामलाई पछिल्लो सरकारले निरन्तरता नदिएको पूर्वमन्त्री आलेले बताए।

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूमा पर्यटक भित्र्याउनका लागि त्यहाँ रहेका पर्यटकीय क्षेत्रको विकासका साथै त्यहाँका विमानस्थलमा अनिवार्यरूपमा जहाज सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । आन्तरिकतर्फको काठमाडौँपछिको दोस्रो ठूलो विमानस्थल धनगढीको स्तरोन्नति मात्रै गर्न सके सुदूरपश्चिमका खप्तड, बडिमालिका, शैलेश्वरी, बड केदारलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा हजारौँ पर्यटक भित्र्याउन सकिने र त्यहाँको विकासमा सहज हुने उनको भनाइ थियो ।

Logo