गोपालमान श्रेष्ठपछि गगन थापाले भने- ‘लोकतान्त्रिक आन्दोलनले निष्ठावान र निर्भीक नेता गुमायो’

गोपालमान श्रेष्ठपछि गगन थापाले भने- ‘लोकतान्त्रिक आन्दोलनले निष्ठावान र निर्भीक नेता गुमायो’

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनले एक समर्पित, अनुभवी र निर्भीक नेता गुमाएको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले श्रेष्ठको निधनको खबरले आफू अत्यन्त दुःखी र स्तब्ध भएको उल्लेख गरेका छन्। उनले नेपाली कांग्रेसका लागि मात्र नभई समग्र लोकतान्त्रिक आन्दोलनका लागि पनि श्रेष्ठको योगदान सधैं प्रेरणादायी रहने बताएका छन्।

थापाले भनेका छन्, ‘नेपाली कांग्रेसका वरिष्ठ नेता तथा हाम्रा आदरणीय अभिभावक गोपालमान श्रेष्ठ दाईको निधनको खबरले अत्यन्तै स्तब्ध र मर्माहत बनाएको छ। नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति उहाँको अविचलित भूमिका सधैं प्रेरणादायी रहनेछ।’

उनले गोपालमान श्रेष्ठको राजनीतिक जीवनलाई पार्टी र राष्ट्रप्रतिको समर्पणको उत्कृष्ट उदाहरणका रूपमा स्मरण गर्दै उनीजस्तो निष्ठावान, अनुभवी र साहसी नेता गुमाउनु नेपाली कांग्रेससँगै मुलुककै लागि अपूरणीय क्षति भएको उल्लेख गरेका छन्।

श्रद्धाञ्जली सन्देशमा थापाले स्याङ्जाबाट सुरु भएको श्रेष्ठको राजनीतिक यात्राले नेपाली कांग्रेसको संगठन विस्तारदेखि सरकार सञ्चालनसम्म महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन्। कार्यवाहक सभापति, पूर्वउपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा उनले निर्वाह गरेको भूमिका इतिहासमा सधैं स्मरणीय रहने उनको भनाइ छ।

थापाले भनेका छन्, ‘स्याङ्जाबाट सुरू भएको उहाँको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशका लागि पुर्‍याउनुभएको योगदान अविस्मरणीय छ। गोपालमान दाईप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली! साथै यस कठिन घडीमा शोकसन्तप्त परिवारजन, आफन्तजन तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। तपाईंको निष्ठा र समर्पणको बाटोमा हामी निरन्तर हिँडिरहनेछौँ।’

Logo