फेरि पनि स्थायी कमिटी बैठक स्थगित ! प्राकृतिक विपद कि भागबण्डा ?

फेरि पनि स्थायी कमिटी बैठक स्थगित ! प्राकृतिक विपद कि भागबण्डा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक पटक–पटक स्थगित हुँदै आएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष आ–आफ्नै अडानमा अडिक हुँदा बैठक स्थगित हुँदै आएको हो । आज बस्ने भनिएको बैठक फेरि पनि स्थगित गरिएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक साताका लागि स्थगित गरिएको हो । देशमा परेको अविरल वर्षाका कारण देशभर आएको बाढी, पहिरो र कोरोनाको महामारी फैलिँदै गएकाले पार्टीको बैठक स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ ।

गत असार १० देखि नेकपा स्थायी कमिटी बैठक जारी छ । पहिलो दिनको बैठकमा दुई अध्यक्षले आ–आफ्नो धारणा राखेका थिए । पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सरकारले इतिहासकै राम्रो काम गर्दा पनि पार्टीबाट प्रचार प्रसार नहुँदा जनतामा निरासा छाएको दुखेसो पोखेका थिए भने अर्का कार्यकारी अध्यक्ष प्रचण्डले आफूलाई कार्यकारी अध्यक्ष भनिए पनि रबर स्ट्याम्प मात्र बनाइएको आरोप लगाएका थिए । पहिलो दिनको बैठकले छलफलका लागि सात एजेण्डा तय गरेको थियो । सात एजेण्डामा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षको मन्तव्य, कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल, सीमा समस्या र समाधान, सरकारका कामको समीक्षा, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध रहेका थिए । विविधमा रुकुम घटनाको सन्दर्भ, प्रतिनिधि सभामा पेश भएको नागरिकता विधेयक र संघीय संसदका सदस्यहरुको भत्ता राखिएको थियो । सात एजेण्डा तय गर्दै अर्को बैठक असार १२ मा बस्ने तय भएको थियो । १२ गते बसेको बैठकमा परराष्ट्र मन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा समस्या सम्बन्धमा ब्रिफिङ गरेका थिए । साथै उनले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको समाचार नियोजित र भ्रामक रहेको दाबी गरेका थिए । १२ गतेको बैठकमा १८ जना सदस्यहरू बैठककै एजेण्डाभित्र रहेर आ–आफ्नो धारणा राखेका थिए । १२ मा बसेको बैठक १३ गते पुनः बस्ने गरी स्थगित भएको थियो ।

१३ गतेको बैठकमा २१ जना सदस्यले सीमा सम्बन्धी एजेण्डामा केन्द्रीत रहेर धारणा राखेका थिए । १३ गतेको बैठकमा ओली अस्वस्थ्यताका कारण उपस्थित भएको केही समयमा नै निस्किएका थिए । १३ गते २१ जना सदस्यले धारणा राखेपछि १४ गते जननेता मदन भण्डारीको जन्म जयन्ती र १५ गते राष्ट्रिय धान दिवसका कारण दुई दिनका लागि बैठक स्थगित गरिएको थियो । १४ गते मदन जन्म जयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेकाले भारतीय राज्य संयन्त्रले आफूलाई हटाउन खोजेको र त्यसमा आफ्नै पार्टीबाट सहयोग रहेको अभिव्यक्ति दिएका थिए ।

उनको सो अभिव्यक्तिलाई लिएर असार १६ मा बैठकको पूर्वनिर्धारित एजेण्डालाई ब्रेक गर्दै नयाँ एजेण्डा भित्रिएको थियो । नयाँ एजेण्डामा प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्यहिन अभिव्यक्ति दिएकाले नैतिक आधारमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिने रहेको थियो । १६ गते नियमित एजेण्डालाई पाखा लगाउँदै १७ जना सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । १७ जनाले राजीनामा माग गरेपछि सकिएको बैठक पुनः १७ गते बसेको थियो । १७ गतेको बैठकमा बोल्ने पाँच जना सदस्यहरूले पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने मागमा अडिग भएका थिए । छोटो समय बसेको बैठक नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनका कारण संसदमा शोक प्रस्ताव पारित गर्न भन्दै असार १८ सम्मका लागि स्थगित गरिएको थियो ।

१८ गते बस्ने भनिएको स्थायी कमिटीको बैठकमा अन्य सदस्य उपस्थित भएपनि प्रधानमन्त्री ओली अनुपस्थित भएका थिए । ओलीले सोही दिन पार्टीको बैठकलाई वेवास्था गर्दै हतार हतार मन्त्रिपरिषद्को बैठक डाकि चालू संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेका थिए । पार्टीको बैठकलाई वेवास्था गर्दै एकलौटी संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको भन्दै प्रचण्डले प्रधानमन्त्री ओलीप्रति बैठकमै आक्रोश व्यक्त गरेका थिए । प्रचण्डको आक्रोशका बीच रोकिएको बैठक २० गते बस्ने तय गरिएको थियो । तर २० गतेदेखि आजका दिनसम्म आउँदा क्रमश: २२, २४, २६ र साउन २ गतेसम्मका लागि गरी ४ पटक बैठक स्थगित गरिएको छ ।

पार्टीभित्रको संकटलाई समाधान गर्न भन्दै गत सातादेखि दुई अध्यक्ष बीच नियमित वान टु वान वार्ता जारी छ । तर अहिलेसम्म कुनै ठोस निष्कर्ष भने आउन सकेको छैन । ओलीले दुबै पद नछाड्ने अडान राख्दै आएका छन् भने प्रचण्ड–नेपाल गुटले भने दुबै पद छाेड्नुपर्ने माग जारी नै राखेका छन् । हिजो बिहिबार बस्ने भनिएको दुबै अध्यक्षबीचको भेटघाट हुन सकेन । बुधबार दुई अध्यक्षबीच भएको भेट पनि सकारात्मक नभएको विवरणहरु सार्वजनिक भएका थिए ।

प्रचण्डले बुधबारको भेटमा पनि प्रधानमन्त्री ओलीसँग पुरानै अडान दोहोर्याएका थिए तर प्रधानमन्त्रीले अध्यक्षका लागि महाधिवेशन र प्रधानमन्त्रीका लागि आम निर्वाचन कुर्नुपर्ने जवाफ फर्काएका थिए । त्यसपछि झन दुई अध्यक्षबीचको सम्बन्धमा चिसोपन छाएको छ । देशमा आएको विपतिका कारण जारी स्थायी कमिटीको बैठक सारिएको भनिए पनि दुई अध्यक्षबीच अझै सहमति जुट्न नसकेको भनेर बुझ्न हतारो हुनेछैन ।

Logo