सीता दाहालः न मुलुकको राजनीतिमा हस्तक्षेप,न पार्टीको कुनै अंगमा उपस्थिति

सीता दाहालः न मुलुकको राजनीतिमा हस्तक्षेप,न पार्टीको कुनै अंगमा उपस्थिति

केन्द्रबिन्दु
0
Shares

नेपालको दशवर्षे शसस्त्र द्वन्द्वकालमा पुष्प कमल दाहाल प्रचण्ड नाम आम नागरिकका लागि त्रासदी, कौतुहलता र सम्भावनाको एउटा ठूलो भूमरी थियो। पत्रपत्रिकामा आएका केही तस्वीर र त्यसमा राखिएको दारी जुँगासहितको मान्छेबारे मानिसहरुका मनमा धेरै खाले भावावेग उत्पन्न हुनु स्वाभाविक थियो।

सीता कहिले पुष्पकमललाई आफ्नो सल ओढाएर भारतीय प्रहरीलाई छक्काइन् भने कहिले हप्काएर जहाँ पायो, त्यहीँ जाने कुरामा सावधान गराएर जनयुद्धका सुप्रिम कमाण्डरको ढाल बनिन्।

उनको परिवार र श्रीमतीको विषयमा समेत मानिसहरुले विभिन्न खाले अनुमान र आंकलन गर्थे। तर २०६३ असार २ गते तीनै पुष्पकमल दाहाल प्रचण्डसँगै बालुवाटार छिरेपछि सीता दाहाल अर्थात् प्रचण्ड पत्नी सीताबारे आम नागरिकको संसय र कौतुहलता पनि औपचारिक रुपमा सकिएको थियो। निक्कै उत्तार चढावपूर्ण जीवन विताएकी उनी सीता दाहालले आज बिहान ८ः३३ बजे यस धर्तीबाट संधैका लागि बिदा लिएकी छिन्।

बालुवाटार बस्दा न उनले राजनीतिमा हस्तक्षेप गरेको सुनियो न पार्टीको कुनै पनि अंगमा उनले आफ्नो उपस्थिति देखाइन्। बस परिवारका लागि सबैथोक गरेर दुःखको भारी बिसाउँदै बिदा लिइन्। 

को हुन् सीता ?
सीता दाहालको जन्म ६९ वर्षअघि (२०११ साल असार २१ गते) कास्कीको हेम्जामा आमा हरिकला र बुवा महेश्वर पौडेलको कोखबाट भएको थियो। सामान्य मध्यम किसान परिवारमा जन्मेकी सीताको २०२६ सालमा तत्कालीन कास्की जिल्लाका ढिकुरपोखरी गाविसका पुष्पकमल दाहालसँग विवाह भएको थियो। कक्षा १० मा पढ्दै गर्दा सीता दाहाल परिवारमा बुहारी बन्न पुगेकी थिइन्। 

विवाह भएको केही समयमा नै दाहाल काठमाडाैँ पढ्न गए। केही समयमा नै छोरी जन्मेपछि उनका लागि छोरी साथी भइन्। कान्छी छोरी जन्मेको वर्ष पुष्पकमल दाहाल कम्युनिष्ट पार्टीको पूर्णकालीन कार्यकर्ता बने। पुष्पकमल दाहाल पार्टीको पूर्णकालीन सदस्य भएर घर छाड्नु अघि नै सीताले पनि २०२८ सालमै कम्युनिष्ट पार्टीको सदस्यता लिएकी थिइन्।

पुष्पकमल दाहाल पार्टीको पूर्णकालीन सदस्य भएपछि पिता मुक्तिराम दाहालले उनीहरुलाई छुट्याइदिए। घरबाट छुट्टिएको दुई वर्षमा नै आफ्ना लालाबालासहित प्रचण्डले सीतालाई भरतपुर सारे। 

राजनीतिमा सीता 

पारिवारिक जिम्मेवारीसहित पार्टी राजनीतिमा चासो राखेकी सीता जिल्ला, क्षेत्र र केन्द्रको विभिन्न तहमा बसेर पार्टी राजनीतिमा सक्रिय रहेकी थिइन्।तत्कालीन माओवादीले २०५२ सालमा हिंसात्मक आन्दोलन सुरु गरेपछि त्यसमा पनि सीताको सक्रिय सहभागिता रहेको थियो।

सीता कहिले पुष्पकमललाई आफ्नो सल ओढाएर भारतीय प्रहरीलाई छक्काइन् भने कहिले हप्काएर जहाँ पायो, त्यहीँ जाने कुरामा सावधान गराएर जनयुद्धका सुप्रिम कमाण्डरको ढाल बनिन्। २०६० सालमा पहिला पुष्पकमल रोल्पा जाने र पछिमात्र सीता मुम्वईबाट रोल्पा जाने योजनाले उनीहरू फेरि छुट्टिन पुगे।  

सीता दाहालको साढे ६ दशक लामो चालु जीवनमा ज्ञानु छोरी गुमाउने पीडासँगै गम्भीर विमारले छोएको कसैलाई पनि पत्तै भएन।

दुई वर्षे रोल्पा बसाइपछि दाहाल दम्पत्ति कुनै बेलाका ज्यानी दुश्मन नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला सहितका नेताहरुसँग १२ बुँदे सहमति गरेर राजतन्त्रको अन्त्य गर्ने प्रयोजनका लागि दिल्ली पुगे। २०६२ मंसिरमा माओवादी र सात दलबीच १२ बुँदे समझदारी भयो। त्यसकै बलमा राजा ज्ञानेन्द्रको निरंकुशताविरुद्धको आन्दोलन सफल भयो।

गिरिजाप्रसाद कोइराला नेतृत्वमा सरकार गठन भयो। तत्कालीन नेपाल सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौला नै विद्रोही सुप्रिम कमाण्डर दम्पत्तिका सवारी मन्त्री बनेर २०६३ असार २ गते पुष्पकमल दाहालसँगै सीता बालुवाटार छिरिन्। त्यसको डेढ वर्ष नपुग्दै सीता देशको प्रथम महिला बन्न सफल भइन्। 

पीडा र वियाेग
सीताले  प्रथम महिला बनेकै बेला सबैभन्दा बढी राजनीतिक र पारिवारिक तनाब झेल्न बाध्य हुनु पर्‍याे। बालुवाटारबाट मुक्त भएर निजी निवासमा फर्केको केही सममयपछि छोरी ज्ञानुको निधन भयो। सीता दाहालको साढे ६ दशक लामो चालु जीवनमा ज्ञानु छोरी गुमाउने पीडासँगै गम्भीर विमारले छोएको कसैलाई पनि पत्तै भएन। त्यसमाथि २०७३ मा दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि सीताको मनमा चैन थिएन।

त्यही बेलामा २०७४ मंसिरमा छोरा प्रकाशको निधनले उनलाई थप बेचैन बनायो। ३ छोरी र १ छोराकी आमा सीता ४ भाइ र २ दिदीबहिनी मध्येकी सीता श्रीमान् पुष्पकमल दाहालतर्फका ६ नन्द र २ भाइहरुको परिवारकी सदस्य बनेर निकै ठूलो नाता सम्वन्धको जालोमा सत्चरित्र र सत्यका पक्षमा सतीसाल जस्तै खडा भएकी थिइन्।
 
अन्तत, महाप्रस्थान 
सीतालाई पार्किन्सस्ले गाल्दै लगेको अवस्था झन बल्झँदै गयो। चुनावकै बीचमा र चुनावपछि दाहाल परिवारले सीता दाहालको उपचारका लागि सम्भव सबै उपाय गर्‍यो। तर त्यो रोगको प्रकृति नै यस्तो थियो कि जहाँ पुगेको छ,त्यहीँ रोक्न बाहेक अरु केही गर्न सकिंदैन्थ्यो।

सीताको उपचारकालागि नेपालका अस्पतालदेखि,भारत, सिंगापुर र अमेरिका समेत पर्‍याएर परीक्षण गराइयो। तर रोगको खासै निदान भएन। बरु उनलाई थप गाल्दै लग्यो। उनै सीताले आज (बुधबार) बिहान ८ः३३ बजे यस धर्तीबाट संधैका लागि बिदा लिएकी छन्। 

Logo