विकास निर्माणमा राजनीतिक दलहरुबीच सहकार्य हुन आवश्यक छः उपप्रधानमन्त्री खड्का

विकास निर्माणमा राजनीतिक दलहरुबीच सहकार्य हुन आवश्यक छः उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास निर्माणका काममा राजनीतिक दलहरुबीच सहकार्यको आवश्यकता रहेको बताएका छन्। उनले राजनीति गर्नेहरु जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्ने बताएका हुन्।

आइतबार सुर्खेत क्षेत्र नं. १ मा भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री खड्काले भने,‘चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिवद्धता जनाएका हुन्छौं, ति प्रतिवद्धता पूरा गर्नु राजनीति गर्नेहरुको प्रतिवद्धता हो,विकास–निर्माण जनताको नासो र सम्पत्ती हो, यि कामहरु गर्दा राजनीतिक दलहरु र राजनीतिकर्मीबीच सहकार्य र समन्वय हुन आवश्यक छ।’

भेरीगंगा नगरपालिका-८ मा लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाणपुर्जा वितरणको काम भइरहेको बताए। ‘सरकारको लक्ष्य कोही पनि नागरिक भूमि विहिन भएर बस्नु नपरोस् भन्ने छ,’ उनले भने, ‘आयोगमार्फत जतिसक्दो चाँडो लालपुर्जा वितरणको काम सम्पन्न गर्ने गरेर तीन तहकै सरकार लागिरहेका छौं।’

उपप्रधानमन्त्री खड्काले विगतमा विभिन्न आयोगहरुले काम गरेर पनि जग्गाधनीले लालपूर्जा नपाएका, श्रेष्ता कायम हुन नपाएका, अधुरा कामहरु पूरा गरेर सुर्खेतमा पहिलो चरणमा लालपूर्जा वितरणको  काम भइरहेको बताए। 

‘एक–डेढ वर्षमा सबै कामहरु सम्पन्न गरेर यस्ता पुर्जाहरु वितरण गरेपछि दोस्रो चरणमा नयाँ जग्गाको नापी र श्रेष्ता दिने काम सुरु हुन्छ,’ उनले भने, ‘कोही पनि नेपाली नागरिक भूमिहिन भएर बस्नुपर्ने अवस्था हुँदैन।’ 

भूमि आयोगले सुर्खेतमा हालसम्म साढे आठ सय जग्गाधनी पूर्जा बनाएर वितरण गरेको छ। उपप्रधानमन्त्री खड्काले कोटमाझखर्क अन्तर्गत जग्गाधनी पुर्जा वितरण चुनौतिपूर्ण रहेपनि केही कानुनी अड्चनलाई पूरा गरेर सहज तरिकाले पूर्जा वितरणको काम सुरु गरिएको बताए। 

उपप्रधानमन्त्री खड्काले भूमि आयोगलाई काम गर्नका लागि केही व्यवहारिक समस्या रहेको बताउँदै ति समस्याहरु समाधान गर्नेतर्फ आफू केन्द्रीत हुने बताए। उनले लालपुर्जाको तयारी र वितरणको कामलाई अझै तिब्र गतिमा अघि बढाउन निर्देशन समेत दिएका छन्। 

खड्काले भेरीगंगा नगरपालिका–१० को आँपधारा खानेपानी आयोजनाको उद्घाटन गर्दै  घरमा स्वच्छ खानेपानी पुर्याउने  सरकार लक्ष्य रहेको जानकारी दिए।  ‘थुप्रै खानेपानी आयोजनाहरु सुरु भएका छन्, केही सम्पन्न हुँदैछन्,’ उनले भने, ‘नागरिकहरुलाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याउने प्रतिवद्धतालाई क्रमैसँग पूरा गर्दै जानेछौँ।’

यस्तै  उपप्रधानमन्त्री खड्काले युवा पुस्तालाई खेलकुदमा अग्रसर गराउने गरेर सरकारले कार्यक्रम ल्याएको बताए।‘खेलाडी प्रोत्साहन,पूर्वाधार निर्माणलगायतका क्षेत्रमा नयाँ कार्यक्रमहरु ल्याएका छौँ,’उनले भने,‘खेल क्षेत्रप्रति युवा पुस्ताको आकर्षण बढाउनका लागि सरकार प्रतिवद्ध छ।’
 
उनले कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगीता हुन लागिरहेको बताउँदै कर्णालीलाई खेलमय बनाउने गरेर संघ,प्रदेश र स्थानीय तह लाग्नुपर्ने बताए। राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

Skip This
Skip This
Logo