काठमाडौं ।
नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा ३० भन्दा बढी नेताहरु प्रधानमन्त्री केपी ओलीको राजीनामाको पक्षमा उभिएपछि प्रभावित स्थायी समितीको वैठक निरन्तर स्थगन हुँदै आएको छ ।
पछिल्लोपटक वुधबारका लागि तय भएको स्थायी कमिटीको वैठक शुक्रबारसम्मको लागि स्थगन भएको छ । यस अवधीमा केही परिदृश्यहरु देखिए । असन्तुष्ट नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालले आफू र राष्ट्रपति दुवै हटाउन लागेकाले आफूले जस्तोसुकै कदम चाल्ने र त्यसका लागि आफ्नो कित्ता स्पष्ट गर्न प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आग्रह गरे । यसले एक प्रकारको तनाब नै सिर्जना गर्यो । ओलीले संसद भंग र संकटकाल लगाउने त होइनन् भन्ने भय समेत उत्पन्न भयो ।
यसै विचमा नेपाल र प्रचण्डले राष्ट्रपतिलाई भेटेर आफूहरुले महाअभियोग ल्याउने कुनै तयारी नगरेको भनी आश्वस्त पारे । केही दिन ओलीले आफू दुवै पद नछोड्ने अडान लिए । परिस्थिती यस्तो भयो कि प्रचण्ड र ओली दोस्रो तहका आफ्ना विश्वापात्र राखेर मात्र वार्तामा बस्न सहमत भए । सो वैठकले सहमतिको खाका बनाउनको लागि दोस्रो तहका नेताहरुलाई निर्देशन समेत थियो । तर त्यो अनौपचारिक कार्यदलले केही पनि निकास दिन सकेन् । त्यसपछि ओली केही नरम भए, पहिले जस्तो आक्रामक भएनन् र वार्ताका लागि प्रचण्डसँग तयार भए । केही दिन यता प्रचण्ड र नेपालको विचमा निरन्तर रुपमा घन्टौ वार्ता भईरहेको छ र वार्तालाई सकारात्मक भनिएको छ । त्यही सकारात्मक भएको आडमा स्थायी कमिटीको वैठक सार्ने काम भईरहेको छ । तर स्थायी कमिटी किन निरन्तर सरिरहेको छ भन्ने चाहि यकिन छैन ।
यसका पछाडी दुईवटा कारण हुन सक्छन् । पहिलो, दुई नेताको विचमा विस्तारै कुरा मिल्दैछ, त्यसैले सबै विषयमा मिलेपछि मात्र स्थायी कमिटीमा छलफल गर्ने उनीहरुको तयारी छ । तर अबस्था त्यस्तो पनि देखिदैन । किनकी प्रचण्डले कुनै पनि हालतमा ओलीले प्रधानमन्त्री पद त्याग गर्नुपर्ने अडान लिएका छन् । त्यसका लागि ओली सहमत छैनन् । दोस्रो, चाहिं कुनै पनि विषय मिलेको छैन । त्यसैले ओली स्थायी कमिटीको बैठक फेस गर्ने मुडमा छैनन् किनकी स्थायी कमिटीको वैठक गर्ना साथ सदस्यहरुले ओलीको आलोचना गर्ने पक्का छ । अर्काेतर्फ प्रचण्ड पनि स्थायी कमिटीको बैठक सार्ने पक्षमा रहेका छन् किनभने उनी सहमतिको आधारमा नै ओलीलाई हटाउने तयारीमा छन् ।
स्थायी कमिटीको वहुमतले ओली हटाउने निर्णय गर्दा पार्टी नै विभाजनमा जाने हो कि भन्ने भय ओलीमा रहेको छ । पछिल्लो समयमा ओली र प्रचण्डको विचमा वार्ता भईरहे पनि प्रचण्डले वार्तामा भएका विषय अन्य नेता माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँग शेयर गरिरहेका छन् । यस पटक ओलीलाई जसरी भए पनि एउटा पदबाट हटाउने तयारीमा नेताहरु रहेका छन् । तर यो निकै कठिन छ किनभने स्थायी कमिटी प्रधानमन्त्रीको विषयमा निर्णय लिने आधिकारिक निकाय होइन । त्यहाँ निर्णय भए पनि ओलीले आफू संसद नै फेस गर्ने भनेमा संसदमा नै जानुपर्ने हुन्छ । त्यसैगरी ओली महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकाले उनलाई स्थायी समितीले हटाउन सक्ने छैन । स्थायी समिती स्थगन गरेर निरन्तर वार्ता भए पनि पार्टी विभाजनको खतरा अझै रहेको नेताहरुले बताईरहेका छन् । त्यसैले स्थायी कमिटी स्थगनलाई मेलमिलापतिर गएको भनी विश्लेषण गर्नु हतारो हुनेछ , यसले पार्टीलाई सम्वन्ध बिच्छेदतिर पनि लगिरहेको हुन सक्छ । नेताहरुका अनुसार स्थायी कमिटीको वैठक अगाडी अर्काे कुनै अप्रिय निर्णय समेत हुन सक्छ ।































प्रतिक्रिया