माघ १६ गतेपछि सरकारविरुद्ध आमहड्तालमा जाने प्रचण्डको चेतावनी

माघ १६ गतेपछि सरकारविरुद्ध आमहड्तालमा जाने प्रचण्डको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गतेपछि सरकारविरुद्ध आमहड्तालमा जाने चेतावनी दिएका छन् । अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने भन्दै उनले आगामी माघ १६ पछि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिएका हुन् ।

सोमवार काठमाडौंमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माघ १६ गतेको विशाल शक्ति प्रदर्शनपछि आम हड्तालतिर जानु पर्ने अवस्था आउन सक्ने र त्यसका लागि तयारीमा लाग्न पनि प्रचण्डले नेता–कार्यकर्तालाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको मात्र नभई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रकै विघटन गरेको आरोप प्रचण्डको छ ।

‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको होइन, त्यो अधिकार पनि उहाँलाई छैन । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको हो । त्यसकारण आन्दोलनको विकल्प छैन । ढिलो गर्न पनि हुँदैन । जनताको अदालत सबैभन्दा माथि हुन्छ’ सम्बोधनमा प्रचण्डले भने । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हुर्किँदै गरेको बच्चाको संज्ञा दिँदै त्यसलाई बचाउन जनअदालतको फैसला सुनाउन आवश्यक रहेको पनि बताए ।
उनले प्रधानमन्त्री ओलीको सोच पहिलेदेखि नै प्रतिगमनकारी रहेको उल्लेख गर्दै प्रचण्डले ओलीले पार्टी एकताका बेला संविधान, पार्टी विधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति गरेको हस्ताक्षर पनि किर्ते रहेको दावी गरे । प्रचण्डले जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति पनि ओली नै भएको आरोप समेत लगाए । ओलीले पार्टी एकता बेला सवैले हस्ताक्षर गरेको विचार र विधि विधानभन्दा बाहिर गएर नेकपा फुटाएको प्रचण्डको दावी छ ।

ओलीसँग सहकार्य गर्ने क्रममा आफूबाट पनि केही कमजोरी भएको स्वीकार्दै त्यसप्रति अहिले गल्ती महसुस भएको बताए । भ्रममा परेर केपी पक्षमा गएकाहरु पनि अन्ततः आफ्नै पक्षमा आउने भन्दै अध्यक्ष प्रचण्डले अदालत र निर्वाचन आयोगप्रति आफ्नो पूर्ण विश्वास रहेकोले सूर्य चिन्ह र नेकपाको आधिकारिकता आफूहरुले नै पाउने ठोकुवा समेत गरे ।

अध्यक्ष प्रचण्डले पार्टीलाई बलियो बनाउने आफ्नो मनशाय भएको भएपनि प्रधानमन्त्री ओलीको शक्ति केन्द्रीत गर्ने मनशाय मात्रै भएको जिकिर गरे । ओलीले सबै सहमति किर्ते गरेका कारण प्रतिगामी सोच रहेछ भन्ने प्रमाणित भएको उनको भनाई छ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेकाले आफूहरुले आधिकारिकता पाउने विश्वास व्यक्त गर्दै उनले आफूहरु जनताको अदालतमा जाने उनले बताए ।

Logo