कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका पछिल्लो समयमा गरेकाे आह्वानको समय सीमा आज समाप्त हुँदैछ । त्यसलाई मध्यनजर गर्दै मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न गठबन्धन दललाई बहुमत पु-याउन सभामुख गौतमले राजीनामा दिएका हुन् ।
उक्त प्रदेशसभामा अहिले गठबन्धन दलतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) का चार र जसपा नेपालका एक सांसद छन् । गठबन्धन इतरतर्फ नेकपा (एमाले)का ४० र राप्रपाका छ जना सांसद एक ठाउँमा देखिएका छन् । कूल ९३ सदस्यमा बहुमत पु-याउन गठबन्धन दललाई ४७ सांसदको आवश्यकता पर्ने भएकाले सभामुख गौतमलाई राजीनामा दिन लगाइएकाे हाे ।
प्रदेशमा राप्रपाले सहयोग गर्न नमानेपछि गठबन्धनमा सभामुखलाई राजीनामा गराउने केन्द्रमा पनि सहमति भएको थियो ।
यसअघि नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन आफूले गरेको हस्ताक्षरलाई सर्वाेच्च अदालतले वैधानिकता नदिने आदेश गरेपछि सरकार ढल्नुका साथै सभामुख गौतम पनि विवादमा परेका थिए । एमाले हिक्मत कार्कीले मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसकेपछि थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दा सभामुख गौतमले हस्ताक्षर गरेका थिए ।





























प्रतिक्रिया