को हुन् ३१औं प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठ ?

को हुन् ३१औं प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठ ?


संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीशका लागि  सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । 

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि श्रेष्ठसहित ११ जनाको  रोष्टर पठाएको थियो । रोष्टरको पहिलो नम्बरमा रहेका श्रेष्ठको नाम सिफारिस गरेको हो । उनको कार्यकाल आगामी २०८१ असोजसम्म हुनेछ ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गते अनिवार्य अवकाश लिँदै छन् । यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेसंगै अब संसदीय सुनुवाइको प्रक्रिया सुरु हुनेछ । संसदीय सुनुवाइ भई अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्।

यस्ताे छ विश्वम्भरप्रसाद श्रेष्ठकाे न्याय सेवाकाे यात्रा

डोटी जन्मस्थान भई हाल काठमाडौंको कुलेश्वरमा बस्दै आएका श्रेष्ठ ३१औं प्रधानन्यायाधीशका रुपमा सिफारिस भएका हुन् । न्याय सेवाकै कर्मचारीबाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च आइपुगेका उनलाई न्याय सेवाको लामो अनुभव रहेको छ । 

कानुनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ २०३८ चैत २७ गतेदेखि न्याय सेवामा प्रवेश गरेका थिए । कानुन तथा न्याय मन्त्रालयमा शाखा अधिकृतका रुपमा अस्थायी नियुक्ति लिएका श्रेष्ठ २०४१ पुष ११ गतेदेखि शाखा अधिकृतका रुपमा स्थायी भएका थिए । त्यसलगत्तै क्षेत्रीय अदालतमा नियुक्ति लिएका श्रेष्ठ २०४४ फागुन १४ गते उपरजिष्ट्रार बनेका थिए । 

२०४५ जेठ ३ गतेबाट श्रेष्ठले न्यायाधीशका रुपमा काम गरेका थिए । न्यायाधीशका रुपमा उनको पहिलो पोष्टिङ दार्चुला जिल्ला अदालतमा भएको थियो । त्यसपछि डडलेधुरा, उदयपुर, मकवानपुर, झापा, बाँके र काठमाडौंमा जिल्ला न्यायाधीशका रुपमा काम गरेका थिए । 

२०६२ चैत १० गतेदेखि श्रेष्ठले तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रुपमा कामकाज सुरु गरे । तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रुपमा उनको पहिलो पोष्टिङ बागलुङ इजलासमा भएको थियो । त्यसपछि श्रेष्ठले पुनरावेदन अदालत पाटन र पोखरामा न्यायाधीशका रुपमा काम गरे । पोखरामै रहँदा २०७० साउन ८ गते श्रेष्ठ पुनरावेदन अदालत पोखराको निमित्त मुख्य न्यायाधीश बने भने २०७१ भदौ १० गतेदेखि पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीशका रुपमा काम गरेका छन् । 

२०७३ साउन १७ गतेदेखि सर्वोच्चको न्यायाधीशका रुपमा कामकाज गरेका श्रेष्ठ हाल वरिष्ठतम् न्यायाधीश रहेका छन् । 

Logo