नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ ।
काठमाडौंमा पाँच दिनसम्म चलेको बैठकले २५ वटा जति समसामयिक प्रस्ताव पारित गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकपश्चात उनले जनतामा माओवादी विशेष रुपान्तरणकोलागि अभियान भन्ने नारासहित तीन महिने महाअभियानमा जनताको घर घरमा आठौं राष्ट्रिय महाधिवेशनको मर्मलाई राख्ने, केन्द्रीय कमिटिको मर्मलाई राख्ने र प्रचार गर्ने निर्णय भएका पनि बताए ।
उनले भने, ‘३ महिनाको महाअभियान सुरु गरेर हामी अगाडि जाने प्रस्ताव सर्वसम्वत पारित भएको छ । यो तीन महिने अभियानको नाम जनतामा माओवादी विशेष रुपान्तरणको लागि अभियान भन्ने नारा छ । भाद्र १६ गते यसको सुरुवात हुन्छ, अभियानमा जनताको घर घरमा जाने आठौं राष्ट्रिय महाधिवेशनको मर्मलाई राख्ने, केन्द्रीय कमिटिको मर्मलाई राख्ने, प्रचार गर्ने निर्णय भएको छ ।’
यस्तै, कार्य विभाजनको रुपमा आफूले समाजवादी मोर्चा र पार्टी एकता हेर्ने जिम्मा पाएकाे बताएका उनले अग्निप्रसाद सापकोटा प्रचार विभाग र प्रवक्ताको भूमिकामा रहने, जनवर्गीय संगठन मध्ये शिक्षक, कर्मचारी, प्राध्यापकलगायत दिनानाथ शर्माले हेर्ने र बाँकी सबै पम्फा भुषालले हेर्ने तय भएको जानकारी दिए ।
उनले भने, ‘अभियानको लागि एउटा दस्तावेज तयार पारेका छौ, त्यो दस्तावेज अभियानमा बाढिन्छ । यसको साथै अध्यक्ष आफै सात प्रदेशको सात वडामा जानु हुन्छ । सबै सदस्यहरु कम्तिमा एउटा वडा लिने भनेका छौ । कार्य विभाजन भएको छ, त्यसमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष सरकारमा भएको नाताले सरकारको मुख्य काम हुने र समग्र पनि हेर्ने । कृष्ण बहादुर महाराले समाजवादी मोर्चा र पार्टी एकता हेर्ने, अग्निप्रसाद सापकोटाले प्रचार विभाग र प्रवक्ताको भूमिकामा रहने, जनवर्गीय संगठन मध्ये शिक्षक, कर्मचारी, प्राध्यापकलगायत दिनानाथ शर्माले हेर्ने बाँकी सबै पम्फा भुषालले हेर्ने तय भएको छ ।’
३ महिनाको लागि इन्चार्जहरुको भूमिकामा प्रदेश नम्बर १ मा बलदेव चन्द्र खनाल, मधेश प्रदेशमा लिलामणि पाखरेल, बागमती प्रदेशमा जनार्धन शर्मा, गण्डकी प्रदेशमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मात्रिका यादव र सुदूरपश्चिममा डिलाराम आचार्य तोकिएको उनको भनाई छ । यस्तै, उनले बैठकमा करिब २५ वटा जति समसामयिक प्रस्ताव पारित भएकाे पनि बताए ।
माओवादीले केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाएको छ । केन्द्रीय समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता थियो । बैठकमा पार्टी सदस्यको सङ्ख्या सात लाख ५२ हजार नौ सय ५६ रहको तथ्याङ्क प्रस्तुत भएको थियो ।
माओवादीको केन्द्रीय समिति बैठक एक वर्षपछि बसेको हो । यसअघि २०७९ साल असार १९ देखि २५ सम्म केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको थिएन । पार्टी अध्यक्ष दाहालको नेृत्वमा वर्तमान सरकार गठन भएपछि गत माघ २६ गते ‘श्रव्य दृश्यका माध्यमबाट केन्द्रीय समितिको बैठक बसेको थियो । माओवादी केन्द्रले २०७८ पुसमा आठौँ महाधिवेशन गरेको थियो । माओवादीले केन्द्रीय बैठकको प्रत्यक्ष प्रसारण गर्ने पदाधिकारीको निर्णयमाथि स्थायी समितिका नेताहरूले विरोधपछि स्थगित गरेको थियो ।





























प्रतिक्रिया