काठमाडौँ ।
राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरुले प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन् ।
सोमबार गणेशमान सिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानको आयोजनामा काठमाडौँमा भएको ‘संसद विघटनः संवैधानिक एवं राजनीतिक अन्योलता र त्यसको निरुपण’ विषयक अन्तक्र्रियामा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा पुनःस्थापनाको निम्ति संघर्ष आवश्यक रहेको बताए ।
लोकतन्त्र, संविधानप्रतिको निष्ठा जायर गर्दै राजनीतिक दल नागरिक समाज लगायतले शक्ति प्रदर्शन गर्न सके अदालतले संविधान भित्रै रहेर निर्णय गर्ने उनको भनाई छ । प्रतिनिधिसभा विघटनमा अन्तर्राष्ट्रिय शक्तिको पनि गलत चलखेल रहेको भन्दै उनले शक्ति प्रदर्शनबाट त्यस्तो चलखेल रोकिने बताए । उनले प्रतिनिधिसभालाई जिवित गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको सार्वभौमिकतालाई प्रतिनिधित्व गर्ने संसद कम्युनिष्ट पार्टीको आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा विघटन गरिएको आरोप लगाए । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको नेताहरुको रिसमा संसदमा आगो लगाएको उनको भनाइ छ ।
नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संविधान निर्माणताका प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिनको निम्ति गरिएको छलफलको अभिलेख अदालतमा झिकाउनुपर्ने बताए । न्यायाधिसहरुले संवैधानिक सर्वोच्चता र विधिको शासन अनुरुप धर्म निर्वाह गर्ने हो भने प्रतिनिधि सभा पुनस्थापनाको विकल्प नहुने उनको भनाई छ ।





























प्रतिक्रिया