रास्वपाले एक्सन टिमलाई भन्याे- स्थानीय निकायको समन्वय र अनुमति लिएर मात्रै उद्धारमा खटिनू

रास्वपाले एक्सन टिमलाई भन्याे- स्थानीय निकायको समन्वय र अनुमति लिएर मात्रै उद्धारमा खटिनू

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजीकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ ।   
        
रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले आज एक विज्ञप्ति जारी गर्दै -यापिड एक्सन टिम (आरएटी) र पार्टी पङ्क्तिलाई बाढी पहिरो प्रकोपमा जनताको उद्धार गर्नका लागि स्थानीय निकाय र सरोकारवाला निकायसँग समन्वय र अनुमति लिन सूचना जारी गरेका हुन् । 
    
जिल्ला प्रशासन कार्यालय चितवनले आज मुग्लिन–नारायणगढ सडकखण्डमा रास्वपाको आरएटी टिमले  कार्यालयबाट स्वीकृत नलिएको भन्दै सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्ला/स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा मात्र उद्धारमा खटिनसक्ने जानकारी दिएका छन् । 
    
रास्वपाद्वारा जारी विज्ञप्तिले यस्ता कुनै पनि प्रकारका नागरिकका समस्या सहजीकरणका लागि स्थानीय निकाय  र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिन सिङ्गो पार्टी पङ्क्तिलाई नै सुसूचित गराएको हो । 
    
“अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र -यापिड एक्सन टिमले जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ”, पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “अतः नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार जानकारी गराइन्छ ।”
    
रास्वपाका अनुसार आरएटीले नागरिकको दैनिक जीवनका समस्या सहजीकरण गर्न सहयोग गर्नेछ । अत्यन्त जोखिमपूर्ण क्षेत्रमा कम्तीमा २० सदस्यसहितको उक्त समूहले विशेषगरी वर्षायाममा बाढीपहिरोको विपत्तिबाट जोगाउने र मद्दत गर्ने पार्टीका प्रवक्ता ढकालले बताए । 

Logo