युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देशलाई समृद्धिको यात्रामा लैजान युवा सक्षम रहेको भन्दै युवाको काँधमा देशको नेतृत्व गर्ने जिम्मेवारी आइसकेको बताएका छन् ।
२४औँ अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर शनिबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा मन्त्री लिम्बूले अहिले पुरानो पुस्ताले देशको जिम्मेवारी सम्हालेपनि नयाँ पुस्ता जिम्मेवारी लिन तयार रहेको बताएका हुन् । उनले मुलुकको नेतृत्व गर्ने जिम्मा युवाको हातमा पुग्ने बेला भैसकेको र त्यसका लागि युवालाई तयार रहन अनुरोध गरे ।
उनले भने,‘युवा साथीहरु हरेक कुरामा अब्बल हुनुहुन्छ,यो देशलाई हाँक्नको निमित्त यो देशलाई संमृद्धिको बाटोमा लैजानको लागि तयारीका साथ तपाइँहरु अगाडि बढ्नुपर्दछ । अहिले हामीले नेतृत्व गरिरहेका छौं, भोलि नेतृत्व गर्ने तपाइँको हातमा आउने बेला भैसकेको छ ।’
त्यस्तै, सरकारले गरेको कार्यप्रति अहिले युवाहरु असन्तुष्ट रहेको स्वीकार्दै मन्त्री लिम्बूले यसबारे मन्त्रालय चिन्तित रहेको बताए । उनले आगामी कार्ययोजना र नीति परिमार्जन गर्न युवालाई अनुभवलाई समेटेर सुझाव दिनका लागि आग्रह पनि गरे । ‘अहिले जुन रुपमा हामी अगाडि बढीरहेका छौं,युवाहरुलाई चित्त बुझेको छैन ।युवाहरुले खोजेको कुरा प्राप्त गर्न सकेको छैन् । तर, के गर्दा त्यो प्राप्त हुनसक्छ कसरी जाने त यो विषयमा मन्त्रालय पनि चिन्तित छ र युवा नीति परिमार्जन गरेर धेरै युवालाई डोर्याउन,धेरैको कुरा सुनेर कार्यक्रम बनाउन र अवसर दिन चाहन्छ । आउनुहोस सबै मिलेर नीति र कार्यक्रम बनाएर अगाडि बढौं ।’ उनले भने ।
मन्त्री लिम्बूले युवालाई सरकारले देश र रोजगारीसँग जोड्नको लागि यो आर्थिक वर्षलाई युवा उद्यमशील वर्षको रुपमा मनाउने घोषणा गरेको उल्लेख गरे । उनले बढीभन्दा बढी आर्थिक उत्पादन वृद्धि गरेर आफ्नै गाउँठाउँमा बसेर रोजगारी गर्ने परिस्थिति निर्माण गर्ने क्रममा सरकार तल्लीन रहेको जिकिर गरे ।





























प्रतिक्रिया