ओलीपक्ष पछाडि नहटे पार्टी फुटाउन दाहाल–नेपालबीच लिखित सहमती

ओलीपक्ष पछाडि नहटे पार्टी फुटाउन दाहाल–नेपालबीच लिखित सहमती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछाडि नहटे दाहाल–नेपाल पक्षबीच पार्टी फुटाउने लिखित सम्झौता भएको खुलासा भएको छ ।

एकलौटी रुपमा सत्ता र पार्टी चलाउँदा ओलीको अहंकार दिनप्रतिदिन बढ्दै गएकाले साइजमा ल्याउन अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्ष तल्लिन छ । ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट पछाडि नहटे पार्टी फुटाउन लिखित सहमति भएको हो ।

केन्द्रबिन्दुलाई प्राप्त उच्च स्रोतको जानकारी अनुसार ओली आफ्नो अडानबाट ‘टस्कोमस’ नभए पार्टी फुटाएरै अगाडि बढ्ने दाहाल–नेपाल पक्षबीच लिखित सम्झौता भएको छ । स्रोतको दाबी अनुसार लिखित सम्झौतामा प्रचण्ड पार्टी अध्यक्ष बन्ने र माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने उल्लेख गरिएको छ । वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने उल्लेख गरिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्री बनाउने लिखित सहमति भएको छ । साथै पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्री तथा आफूले रोजेको दुई मन्त्रालय दिने र रामबहादुर थापा (बादल) लाई पनि उचित व्यवस्थापन गर्ने सहमति गरिएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबारको भेटमा प्रचण्डलाई दुबै पद नछोड्ने जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीको उक्त जवाफबाट चिढिएका प्रचण्ड कुनै पनि हालतमा पछाडि हट्ने मनस्थितिमा छैनन् । बैठकमा ओलीले आफूलाई कारवाही गरेर देखाउन दाहाललाई चेतावनी दिएका थिए । पार्टीले कारवाही गरे छुट्टै पार्टी गठन गर्ने ओलीको भनाइ थियो ।

२०७४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर गठबन्धन गरेका थिए । सोही गठबन्धनले करिब दुई तिहाइ नजिकको सरकार गठन भएको थियो । २०७४ फागुन ४ मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । २०७५ जेठ २ मा ओली र प्रचण्डबीच पार्टी एकता गर्ने पाँच बुंदे सहमति भएको थियो । सहमतिको बुंदा नम्बर ४ मा समानता र समान अवधिका आधारमा आवश्कता अनुरुप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख गरिएको थियो ।

जसको साक्षीका रुपमा ओलीका तर्फबाट तत्कालीन नेकपाका महासचिव विष्णु पौडेल र प्रचण्डका तर्फबाट तत्कालीन माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य जनार्दन शर्मा (प्रभाकर) रहेका थिए । तर, पछि २०७६ मंसिर ४ मा सरकारको पूरा कार्यकाल ओलीले चलाउने र पार्टीको जिम्मेवारी प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतले चलाउने थप सम्झौता गरिएको थियो । तर, गत शुक्रबारको दुई अध्यक्षबीचको भेटवार्तामा प्रचण्डले पार्टी एकतालाई निश्कर्षमा पु¥याउन ओलीलाई पाँच वर्ष प्रधानमन्त्री मान्दा पनि आफूमाथि अन्याय गरेको बताएका थिए ।

त्यस्तै प्रधानमन्त्री ओलीले सरकारलाई पार्टीले असहयोग गरेको, पार्टीभित्र गुटबन्दी बढेर आफूलाई भित्तामा नै पु¥याउन लागि परेको दुखेसो पोखेका थिए । साथै ओलीले मंसिर ४ को सहमति अनुसार पार्टीलाई अगाडि बढाउन आग्रह गरेका थिए । तर प्रचण्डले भने मंसिर ४ मा फर्कन नसकिने बरु ओली जेठ २ मा फर्किनुपर्ने अडान लिएका थिए ।

जेठ २ को समानता र समान अवधिका आधारमा आवश्यकता अनुसार दुबै अध्यक्षले सरकारको नेतृत्व गर्नेु सहमति छाडेर आफूले गल्ती गरेको प्रचण्डको भनाइ थियो । शुक्रबार दुई अध्यक्षबीच चलेको छलफल विना निष्कर्ष टुंगिएको थियो । शनिबार पुनः छलफल हुने भनिए पनि भेटवार्ता हुन सकेको थिएन । तर दुई अध्यक्षबीच टेलिफोन सम्वादमार्फत स्थायी कमिटीको बैठक दुई दिन स्थगित गर्ने सहमति भएको थियो । तर शनिबार साँझ प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शितल निवास पुगेका थिए । शितल निवासबाट फर्किएपछि ओलीले मन्त्री तथा राज्यमन्त्री सम्मिलित बैठकमा आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भएको बताएका थिए ।

साथै ओलीले राष्ट्रपति र आफू विरुद्ध षड्यन्त्र गरिए जुनसुकै कदम चाल्ने चेतावनी दिएका थिए । अहिलेको परिस्थिती जटिल भएकाले मन्त्रीहरुलाई आ–आफ्नो कित्ता क्लियर गर्न उनको निर्देशन थियो । प्रधानमन्त्री ओलीले भनेका थिए–‘तपाईंहरूले परिस्थिति बुझ्नु भएकै छ, पार्टीभित्रैबाट राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुबै पदबाट हटाउने तयारी भएको छ । तर म अन्तिमसम्म यसको सामना गर्न तयार छु । तपाईहरु मेरो पक्षमा हो कि विपक्षमा हो, साइड क्लियर गर्नुहोला ।’

त्यस्तैगरी शनिबार नै प्रचण्ड–नेपाल पक्षका नेताहरू पनि प्रचण्ड निवास खुमलटारमा भेला भएका थिए । पार्टीको विधि र पद्दतिभन्दा बाहिर गएर प्रधानमन्त्रीले धम्क्याइ आफ्नो पक्षमा जनमत तयार पार्न सडकमा युवाहरूलाई उतारेको भेलाले निष्कर्ष निकालेको थियो । अन्तिम छलफलका लागि आइतबार प्रधानमन्त्रीसँग बैठक बस्ने निधो प्रचण्ड–नेपाल खेमाले गरेको थियो । सोही अनुसार आज बालुवाटारमा बसेको बैठक विना निष्कर्ष टुंगिएको छ ।

आजको बैठकमा ओलीपक्षबाट स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र प्रचण्डपक्षबाट उर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा सहभागी थिए । आजको छलफलमा पनि सहमति जुट्न नसकेकाले प्रधानमन्त्री ओली विरूद्ध स्थायी कमिटीले निर्णय गर्ने प्रचण्ड पक्षका एक नेताले जानकारी दिए । गत असार १० देखि नेकपाको स्थायी कमिटीको बैठक जारी छ । सात दिनसम्म चलेको बैठकमा ३० भन्दा बढी सदस्यले प्रधानमन्त्री ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

स्थायी कमिटीमा कूल ४५ सदस्य रहेका छन् । नेकपाभित्रको विवाद अब कसरी अगाडि बढ्छ भन्ने भोलि बस्ने स्थायी कमिटीको बैठकले निर्णय गर्नेछ ।

Logo