काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले स्थायी समितिका एजेण्डासँग संसद कारवाहीले मेल नखाने बताएकी छन् । शनिबार ९८ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।
सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकका एजेण्डा र संसद अधिवेशनको कुराहरु नितान्त फरक भएको उनको भनाइ छ । संसद कहिले सुरु गर्ने, कहिले अन्त्य गर्ने, संसदलाई के विजनेश दिने भन्ने कुरा सरकारको भएकाले पार्टीको स्थायी समितिका एजेण्डासँग कुनै पनि हालतमा मेल नखाने उनले बताइन् । बजेट ल्याउनका लागि मात्रै सरकारले संकटको बेला संसद अधिवेशन सुरु गरेको उल्लेख गर्दै उनले अहिले छलफलका कुनै एजेण्डा र विजनेश नभएकाले बन्द भएको बताइन् ।
अर्यालले पछिल्ला घटनाक्रमहरुले विकास निर्माणका काममा अवरोध पुगेको पनि बताइन् । सरकारले व्यवसायीहरुमाथिको जोखिम न्यूनिकरणका लागि काम गरेपनि अहिले परिस्थितिले साथ नदिएको उनको भनाइ छ । विकास निर्माणका क्षेत्रमा सरकारले गरेका कामहरुको परिणाम देखिने समयमा कोरोना संक्रमणले ‘डिस्टर्ब’ गरेको उनले बताइन ।
राजनीतिक दलहरुभित्र बहस, छलफल, आलोचना र आत्मालोचना हुने भएपनि अशिष्ट ढंगले हुँदा नकारात्मक परिणाम ल्याउने मन्त्री अर्यालको भनाइ छ । पार्टीभित्र नेताहरुले छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने उनले विश्वास व्यक्त गरिन् । कसैको आलोचना गर्दा कागज पोलेर खरानी हुने गरी गर्न नहुने उनले जिकिर गरिन् ।





























प्रतिक्रिया