उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग मित्रराष्ट्र लेवनानका लागि नेपालका अवैतानिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले आज शिष्टाचार भेट गरेका छन् ।
सो अवसरमा उपप्रधानमन्त्री खड्काले दुई देशबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै नेपाल र लेवनानबीच असल सम्बन्ध रहेको भन्दै शान्ति सिथापनार्थ युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेवनान (युनिफिल) मिशनमा नेपाली शान्ति सैनिकहरु लेवनानमा तैनाथ भई लेवनानको शान्ति प्रकृयामा योगदान पुर्याउन पाएकोमा खुशी व्यक्त गरे । उनले यसले दुई देशबीचको सम्बन्धलाई विशेष बनाएको उल्लेख गरे ।
साथै, नेपाल र लेवनान दुवै मुलुक प्रकृतिक सम्पदा, संस्कृति र परम्परामा सुन्दर एवम् धनी रहेको र पर्यटन उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने धेरै संम्भावनाहरु भएकाले पर्यटन एवम् अन्य क्षेत्रमा लेवनानको तर्फबाट लगानीका लागि आह्वान समेत गरे ।
उपप्रधानमन्त्री खड्काले सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षकको तैनाथीबाट संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा पहिलो पटक नेपाली सेना शान्ति सैनिकको रुपमा सहभागी भई शान्ति स्थापना कार्यको यात्रालाई सुरुवात गरेकोले नेपाली सेनाको इतिहासमा कोसेढुङ्गा सावित भएको बताए ।
सन् १९७८ देखि युनिफिल मिसन अन्तर्गत हालसम्म ५० हजारभन्दा बढी शान्ति सैनिकहरु तैनाथी भई आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् । साथै हाल ८७५ जना शान्ति सैनिकहरु लेबनानमा तैनाथ रही आफ्नो जिम्मेवारी वहन गरिरहेको उहाँको भनाइ छ ।
नेपाली सेना र लेवनानी सशस्त्र बलबीच सौहार्दपूर्ण सम्बन्ध रहेको साथै नेपालको तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको भ्रमण नियमित रुपमा हुने गरेको पनि उनले औंल्याए ।
उपप्रधानमन्त्री खड्काले नेपाली सेनाका प्रधानसेनापतिको नेतृत्वमा भएको पछिल्लो भ्रमण पनि यसैको निरन्तरता रहेको र भविष्यमा समेत यसलाई निरन्तरता दिइने कुरा उल्लेख गरे ।

सो अवसरमा नेपालका लागि लेवनानका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले लेवनानमा नेपाली शान्ति सैनिकले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकप्रति लेवनानी जनताको सकारात्मक भावना रहेको कुरा औंल्याए ।
उनले दुई देशबीच पर्यटन, उद्योग, जलश्रोत लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्ने संम्भावना रहेको र आफूले त्यसका लागि कार्य गरिरहेको कुरा बताए । साथै, दुई देशबीच द्विपक्षीय श्रम, उद्योग, वाणिज्य, व्यवस्थापकीय लगायतका क्षेत्रमा द्विपक्षीय समझदारीगर्ने कार्य लेवनानको तर्फबाट अघि बढाएकाले नेपालको तर्फबाट ती विषयहरु शीघ्र टुङ्गोमा पुर्याउन भूमिका निर्वाह गर्न उपप्रधानमन्त्री तथा रक्षा मन्त्री खड्कासँग अनुरोध गरे ।
सो अवसरमा नेपाली सेनाका प्रधानसेनापति, रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै, नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति थियो ।





























प्रतिक्रिया