काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्व प्रति आक्रोशित भएका छन् ।
नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवा नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित भएका हुन् ।
उनले नेविसंघले गाउँगाउँमा, स्कुल स्कुलमा नेविसंघ बनाउन नसक्ने तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरे । अहिले गाउँ ठाउँ स्कुल कतै पनि नेविसंघ नरहेको र कुनै पनि स्कुलमा जित्ने हैसियत नेविसंघले नराखेको भन्दै आक्रोशित भए । पहिला गाउँ र स्कुलमा गएर नेविसंघ बनाएर मात्र आफूसँग कुरा गर्न आउन उनले विद्यार्थी नेताहरुलाई निर्देशन दिए ।
उनले अहिले नेविसंघभित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबीच कुरा गरी समस्याको समाधान निकालिने बताए । उनले विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको बताए । आफू अहिलेसम्म चारपल्ट प्रधानमन्त्री भएको तर अहिलेको कोही पनि विद्यार्थी नेताहरु भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मान्नु पर्ने अवस्था आएको बताए ।
सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्न समेत गरे । उनले भने, ‘सोसल डिस्ट्यान्सिङ भन्या छ, टाँसिएर बसिराखेको छ । लाज पनि छैन । बोल्दा पनि भ्यालु पनि छैन । कहाँ डिस्ट्यान्सिङ छ यहाँ । त्यसकारणले खतरा हुन गएको छ यो । यसमा चिच्याएर ठूलोठूलो स्वर गरेर केही हुनेवाला छैन । सोसल डिस्ट्यान्सिङ गर्नुस् यस्तो टाँसिएर बसेर हुन्छ ?’ उनले कहिलेकाहीं कार्यक्रम नगरे पनि हुने र गर्नै परे अलि फराकिलो ठाउँमा थोरै मान्छे भेला भएर गरेको भए के हुन्थ्यो, भन्दै आक्रोश व्यक्त गरे ।





























प्रतिक्रिया