भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग दक्षिण कोरियाको एक टोलीले भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न प्रस्ताव मागेको छ ।
सोमबार मन्त्री ज्वालालाई भेट्न सिंहदरवार पुगेको राजदूत सहितको टोलीले सडक वा रेलका क्षेत्रमा लगानी गर्न आफ्नो देश तयार रहेको बताएको हो । नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्दै आएको दक्षिण कोरियाले भौतिक पूर्वाधारका क्षेत्रमा पनि लगानी गर्न आफूहरु तयार रहेको बताएको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ ।
भौतिक पूर्वाधारका हिसावले नेपालमा अझै धेरै गर्नुपर्ने भएकोले त्यसका लागि ठोस आयोजनामा छलफल गर्न तयार रहेको बताएको हाे ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत थेयङ पार्कले केही महिनापछि नेपाल र दक्षिण कोरिया दौत्य सम्बन्धको ५० बर्ष पुरा हुँदैछ । दौत्य सम्बन्ध पुरा भएको अवसरमा केही ठोस योजनाहरु दिए आफूहरु लगानी गर्न तयार रहेको बताएको सचिवालयको भनाई छ ।
जवाफमा मन्त्री ज्वालाले भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता हुनसके दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने बताए । ‘केही समयमा दुई देशबीचको दौत्य सम्बन्ध ५० बर्ष पुग्दैछ, यहीबेला भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण निर्णय लिनसके दुई देशबीको सम्बन्ध अझै प्रगाढ हुन्छ ’मन्त्री ज्वालालाई उदृत गर्दै सचिवालयले भनेको छ ।
सो अवसरमा नेपालका इन्जिनियरहरुलाई तालिम दिएकोमा दक्षिण कोरिया सरकारलाई मन्त्री ज्वालाले धन्यवाद दिएका थिए ।





























प्रतिक्रिया