हरित दिगो विकासको अभियानलाई परिणाममुखी बनाउने मन्त्री बस्नेतको प्रतिबद्धता

हरित दिगो विकासको अभियानलाई परिणाममुखी बनाउने मन्त्री बस्नेतको प्रतिबद्धता


उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको हरित दिगो विकासको यात्रामा नयाँ अभियानको थालनी भएको र त्यसलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

बुधबार नेपाल विद्युत् प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसनको नेपाल पुलिस क्लब, भृकुटीमण्डपबाट उद्घाटन गर्दै उनले हरित दिगो विकासको नीति औपचारीक रुपमै आजदेखि व्यवहारमा कार्यान्वयन भएको बताएका हुन्। मन्त्री बस्नेतले दिगो विकासको यात्रामा यो अभियान महत्वपूर्ण कोशेढुङ्गा भएको दाबी गरे। 

उनले भने, ‘यो अभियान दिगो विकासको यात्रामा नेपालको अर्को एउटा महत्वपूर्ण पाइला (माइलस्टोन) सावित हुनेछ।’

त्यस्तै मन्त्री बस्नेतले विद्युतीय सवारी साधन विस्तारका लागि सरकारले दिनुपर्ने सहुलियत उपलब्ध गराउन र प्रवद्र्धनको अनुकूल वातावरण निर्माण गर्न सरकार तयार रहेको स्पस्ट पारे। 

‘हामी इभी (इलेक्ट्रोनिक भेइकल) कम्पोनेन्टहरूको उत्पादनबारे पनि सकेसम्म यहीँ उत्पादन गर्न सकियोस् भन्ने चाहान्छौँ। त्यसका निम्ति विद्युतीय सवारी साधनको प्रवद्र्धन र विस्तारका लागि सरकारले दिनुपर्ने सहुलियत र तयार गर्नुपर्ने अनुकूल वातावरण दुवैलाई जिम्मेवारीपूर्वक अगाडि बढाइराखेको छ। सरकारले यो क्षेत्रमा सार्थक पहल गरिराखेको छ। परिणाममुखी कामहरू सुरु भएका छन्, अझै थप परिणाममुखी भएको देख्न सक्नुहुनेछ। यसलाई अभियानको रुपमा अगाडि बढाउने छौँ,’ उनले भने। मन्त्री बस्नेतले निकट भविष्यमा यो भन्दा ठूलो सङ्ख्यामा चार्जिङ स्टेसनको निर्माण गर्नेगरी कार्य गरीरहेको जानकारी गराएका छन्।

Logo