काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीमा विवाद चर्किदै गर्दा ललितपुरमा छुट्टै भेला भएको छ। बुधबारको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले प्रधानमन्त्रीको राजीनामा मागेका थिए।
बालुवाटारमा स्थायी कमिटी बैठक स्थगीत भएपछि नेताहरु झम्सीखेलमा भेला भएका हुन्। स्थायी कमिटी सदस्य भीम रावलका अनुसार बैठकमा ३० बढी नेता सहभागी भएका थिए ।
‘हामी पार्टी एकतालाई बलियो बनाउन चाहन्छौँ। हामीले गुटमा छलफल गरेका होइनौँ’, रावलले भने, ‘स्थायी कमिटी बैठकमा सहभागी साथीसहित छलफलमा ३० बढी साथी थियौँ।’
बुधबार बिहान प्रधानमन्त्री ओलीले पार्टी निर्णय कार्यान्वय गर्ने बाटो छोडेर गुट बैठक राखेको भन्दै प्रचण्डले प्रधानमन्त्रीसँगको छलफलमा बसेका नेतालाई समेत बोलाएर छलफल गरेको रावलको भनाइ छ।
प्रधानमन्त्रीले नै गुट चलाएपछि पार्टी एकता जोगाउन छलफल भएको नेता रावलको दाबी छ। छलफलमा प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार र पार्टी चल्न नसक्ने निष्कर्ष निस्किएको एक नेताले बताए।
प्रचण्डले बुधबार साँझको ललितपुर छलफलमा सहभागी नभएका नेतासँग बिहीबार बिहान छलफल गर्ने दाबी रावलले गरेका छन्। पार्टीको निर्णय प्रधानमन्त्रीलेसमेत मान्नु पर्ने विषयमा छलफलमा सहभागी नेताहरु एकमत भएका छन्। बैठकमा केही मन्त्रीसमेत सहभागी भएको नेता रावलले जानकारी दिए।
नेकपाको ४४ सदस्यीय स्थायी कमिटीका सदस्यमध्ये बहुमत नेताको बैठकले प्रधानमन्त्री ओलीलाई अप्ठेरो बनाउने रणनीतिमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम एकजुट बनेका छन्।
ललितपुर भेलामा बुधबार बिहान प्रधानमन्त्रीसँगको छलफलमा सहभागी गृहमन्त्री रामबहादुर थापा ‘बादल’, कृषिमन्त्री घनश्याम भुसाल, नेता मणि थापासमेत सहभागी थिए।
भेलामा नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठ, नेता रघुजी पन्त, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, मातृका यादव, देव गुरुङ, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, भीम आचार्य, बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल गिरिराजमणि पोखरेल, मुकुन्द न्यौपाने, लीलामणि पोखरेल, हरिबोल गजुरेल लगायत नेता सहभागी थिए।
यता नेता विष्णु रिजालले भने स्थायी कमिटी बैठक जारी रहेकाले समाधानको विकल्पमा छलफल भइरहेको बताएका छन्। बुधबार बिहान बालुवाटार र साँझ ललितपुरमा छलफल भएपछि उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्।
‘फेरि भन्छु, लाहुरेभन्दा गुन्टा अघि कुदेको सुहाउँदैन। स्थायी समिति बैठक जारी छ’, नेता रिजालले लेखेका छन्, ‘बिहान एक अध्यक्षले बालुवाटारमा छलफल गर्नुभयो, साँझ अर्का अध्यक्षले ललितपुरमा छलफल गर्नुभयो। औपचारिक बैठकबाहेक समाधानका विभिन्न विकल्पमा छलफल जारी छ। पार्टी एकता नेताहरुले नै गर्नुभएको हो, बचाउने जिम्मा पनि उहाँहरुकै काँधमा छ। छलफलबाट एउटा निष्कर्ष निस्किन्छ र पार्टी एकताबद्ध भएर अघि बढ्छ।’
उनले नेता छलफलमा भएको समयमा कार्यकर्ता आरोप—प्रत्यारोपमा उत्रनु गलत भएको टिप्पणीसमेत गरेका छन्। ‘नेताहरु नै छलफलमा रहेर कुनै निष्कर्षमा नपुगिरहेको बेलामा कार्यकर्ताहरु आरोप–प्रत्यारोपमा उत्रेर सामाजिक सञ्जाल रंग्याउनुको अर्थ छैन’, उनले थप लेखेका छन्, ‘ यसबाट आफ्नै साथीहरुबीच अनावश्यक तिक्तता मात्र बढ्छ।’ अन्नपूर्णबाट































प्रतिक्रिया