देउवा समूहबाट सभापतिको उम्मेदवार म बन्न सक्छुः शशाङ्क कोइराला

देउवा समूहबाट सभापतिको उम्मेदवार म बन्न सक्छुः शशाङ्क कोइराला


नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन् । 

भरतपुर विमानस्थलमा आज पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यो प्रतिक्रिया दिएका हुन् । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाईं हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले भने, “सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?”
 
पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने नेता कोइरालाको भनाइ थियो । तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेकाे उनले बताए । 

उनले भने, “सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उहाँहरुको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु ।” 

Logo