कोसी प्रदेशकाे मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वोच्चकाे परमादेश

कोसी प्रदेशकाे मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वोच्चकाे परमादेश


सर्वोच्च अदालतले कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पुनः पदमुक्त गरेको छ ।

बिहीवार भएको सुनुवाइमा सर्वोच्चको पूर्ण इजालासले मुख्यमन्त्री थापालाई पदमुक्त गर्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको हो । न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले उक्त मुद्दा हेरेकाे थियाे । 

मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैरसंबैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो । उक्त रिटमाथि गत शुक्रबार नै पूर्ण इजलासमा सुनुवाइ गर्नेगरी यसअघि नै पेसी तोकिएको थियो तर सो रिटमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै सुनवाइ राेकिँदै आएकाे थियो ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

यसअघि साे रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोसी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न पनि अन्तरिम आदेश जारी गरेकाे थियाे । त्यसपछि आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेकाे थियाे ।  

४८ घण्टाभित्र सबैभन्दा ठूलो पार्टीका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न सर्वोच्चको परमादेश जारी भएसँगै अब कोसी प्रदेशका मुख्यमन्त्री एमाले संसदीय दलका नेता कार्की बनेका छन् ।

Logo