काँग्रेसको १४ औँ महाधिवेशन फागुन ७ मै हुने

काँग्रेसको १४ औँ महाधिवेशन फागुन ७ मै हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ ।

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको बैठकमा १४ औँ महाधिवेशन निर्धारित समयमै गर्ने र अन्य अधिवेशनका तालिकामा भने हेरफेर गर्ने बारेमा छलफल भएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सो निर्णय पार्टीको आगामी केन्द्रीय समिति बैठकबाट पारित गराउन काँग्रेसले असार १६ गते दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ । काँग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहतका निकायका अधिवेशन र १४ औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो ।

सो तालिका अनुसार ०७६ फागुनदेखि ०७६ चैतसम्म पार्टीको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्यसम्पन्न गर्ने अवधि तोकेको थियो ।

उक्त कार्यतालिका अनुसार जिल्लामा क्रियाशील सदस्यता फाराम पुर्याउने काम भए पनि कोभिड–१९ का कारण वितरण र नवीकरण कार्य प्रभावित भएको थियो । काँग्रेसले १४ औँ महाधिवेशनका लागि गाउँ÷नगर वडा अधिवेशन आगामी कात्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गतेका लागि निर्धारण गरेको थियो ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन आगामी मङ्सिर २९ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका सार्वजनिक गरिएको थियो ।

काँग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौँमा भएको थियो । काँग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने विधानमा उल्लेख भए पनि विधानकै अर्को व्यवस्था अनुसार एक वर्ष समयावधि यसअघि नै थप गरिसकिएको छ ।

काँग्रेस केन्द्रीय समिति बैठक मङ्गलबार

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार १६ गते दिउँसो १ बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४ औँ महाधिवेशन र अधिवेशनको कार्यतालिका बारेमा छलफल हुने बताइएको छ ।

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको बैठकले काँग्रेसको १४ औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गतेसम्म नै काठमाडौँमा गर्ने र अन्य अधिवेशनका तालिकामा सामान्य हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई केन्द्रीय समितिको आगामी बैठकले पारित गर्ने पार्टी कार्यालयले जनाएको छ ।रासस

Skip This
Skip This
Logo