प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा बंकरमा फसिरहेका विद्यार्थीहरूलाई चाँडै उद्धार गर्ने आश्वासन दिएका छन् ।
‘सिक्दै कमाउँदै’कार्यक्रमअन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीहरुको टिम लिडर विपिन सुवेदीसँग प्रधानमन्त्री प्रचण्डले भिडियो मेसेन्जरबाट कुराकानी गरेका हुन् । उनले आफूहरु नेपालीहरुको उद्धारमा लगातार लागिरहेको र एउटा निष्कर्षमा पुग्ने स्थिती बनेको जानकारी पनि गराए ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले केही तत्व भ्रम फैलाउन पनि लागिपरेकाले त्यहाँ रहेका अन्य विद्यार्थीहरुलाई मोटिभेटका साथै कम्युनिकेट गरिदिन सुवेदीसँग आग्रह गरेका थिए । उनले यही विषयमा छलफल गर्न मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाइएको पनि जानकारी गराए।
त्यसअघि इजरायल-प्यालेस्टाइन युद्धको चपेटामा फसेका विद्यार्थीहरूको नेतृत्व गरेका सुवेदीले बंकरभित्रै लुकेर एक भिडियो सन्देश जारी गर्दै सरकारसँग तत्काल उद्धारको पहल गरिदिन आग्रह गरेका थिए । उनले भनेका थिए- ‘प्लिज, बिन्ती छ! हामी अझै, अब कुर्न सक्दैनौं। हामीले समाचारमा सुन्यौं। भारतले एउटा टिकटक स्टारलाई जहाज चार्टर्ड गरेर भारत लग्यो भनेर। हाम्रो नेपाल सरकारले यत्रो विद्यार्थीलाई, हामी कृषि क्षेत्रका विद्यार्थीलाई केहीपनि गर्न सक्दैन हो? हामी यत्रो ३९ जनामा १० जना त गुमाइसक्यौं। अझै पनि जति बचेका छौं, त्यतिलाई त केही न केही गर्न सकिन्छ होला नी। देश फर्केर हामीले पनि त केही न केही गर्थ्यौं होला। केही न केही चाहि गरिदियोस्।’
प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । ‘सिक्दै कमाउँदै’कार्यक्रमअन्तर्गत एक महिना अघिमात्रै सुदुरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना विद्यार्थीहरुकाे मृत्यु भएको हाे । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्।
पचनाली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि आम्रमणमा मृत्यु भएको छ। केही घाइते पनि भएका छन् ।





























प्रतिक्रिया