प्रधानमन्त्री केपी शर्मा ओलीले दुई महिना अघि दल फुटाउने गरी अध्यादेश ल्याएपछि आफूमाथि आइपरेको सत्ता संकट टार्न समग्र कामको समीक्षा गर्ने र उस्तै परे मन्त्रीहरु पनि फेरबदल गर्ने अनौपचारिक प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीले आफू सच्चिएर अघि बढ्न तयार रहेको बताएपछि त्यसबारे ओलीको विकल्पमा जानुपर्छ भन्ने ढंगले अघि बढेका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपाल केही मत्थर भएका थिए ।
ओलीले के गर्लान् ?
दाहाल र नेपाल लगायतका नेताहरु ‘पर्ख र हेर’को रणनीतिमा थिए । त्यसबेलाको विवाद साम्य गर्नलाई ओलीले कमजोरी सच्चाउन तयार रहेको बताएपनि त्यसपछि उनले आफ्नो गतिविधिमा कुनै सुधार नगरेको बुझाई दाहाल र नेपाल समूहको छ । त्यसैले अब आजबाट शुरु हुने नेकपा स्थायी कमिटीको विषयगत छलफलमा सरकारको काम र मन्त्रीहरुको गतिविधिमाथि पनि प्रश्न गर्ने योजना दाहाल र नेपालले बनाएका छन् ।
उस्तै परे सरकार नै बदल्नुपर्ने नभए मन्त्रिपरिषद् फेरबदल गरेर नयाँ सन्दर्भमा सरकारलाई फरक ढंगले अघि बढाउनुपर्ने असन्तुष्ट समुहको निष्कर्ष छ । स्थायी कमिटी बैठकमा सरकारको ‘पर्फरमेन्स’ माथि नै पार्टीभित्रका नेताहरुले प्रश्न उठाउने तयारी गरिरहँदा हाल सरकारमा रहेका प्रधानमन्त्रीसहितका मन्त्रीहरु कस्ता छन्, उनीहरुको पब्लिक रिपोर्ट र छवि कस्तो छ त ? एकपटक नियालौ ।
१. प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीको सात दशकदेखि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरासहितका नेपाली भूभाग नेपालको नक्सामा समेटपछि उनको राष्ट्रवादी छवि उजिल्लएको छ । अहिलेसम्म कुनै पनि सरकारले आँट नगरेकोे काम उनले गरेका छन् । यो मामिलामा उनलाई सर्वसाधारणले स्यावासी दिएका छन् ।
तर, सँगसँगै भारतलाई चिढ्याउने र चीनतिर उनी लहसिएको आरोप छदैछ । हरेक बिषयमा आफै मात्र जान्ने जस्तो रुपमा लम्बेतान भाषणले गर्दा उनको व्यापक आलोचना छ । प्रधानमन्त्री कार्यालयलाई मजबुत बनाउने नाममा उनले शक्ति केन्द्रित गरेका छन् । अरुका कुरा काम सुन्छन्, आफूलाई लागेका कुरालाई तर्क कुतर्क गरेर जबरजस्ती स्थापीत गर्न खोज्छन् । पार्टीसंग उनको समन्वय राम्रो छैन । त्यसैले उनको समग्र छवि खस्केको छ । तीन बर्षमा उनले के के काम गरिसके ? यसको जवाफ खोज्न घोत्लनुपर्ने अवस्था छ । सत्ता जाँदा उनको जुनप्रकारको साख थियो, उनीप्रति नागरिक आशा जुन खालको थियो त्यसमा गिरावट आएको छ ।
२. उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल शुरुमा रक्षामन्त्रीको रुपमा मात्र सरकारमा इन्ट्री भएका थिए । पछि उपेन्द्र यादव पनि सरकारमा सामेल हुने भएपछि उनको बढोत्तरी भयो, उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रायको जिम्मेवारी पाए । उपप्रधानमन्त्री भएपनि शुरुमा ओलीले उनलाई धेरै भरोसा गरेका थिएनन् । जब ओलीले मिर्गौला फेर्नुपर्ने भयो त्यसपछि उनले विस्तारै आफ्ना कामहरुमा पोखरेललाई अघि सारे ।
जब कोरोना भाइरसको संक्रमण रोकथामको काम गर्नुपर्ने भयो ओलीले त्यसको सम्पूर्ण कामको जिम्मेवारी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बनाएर त्यसको जिम्मेवारी पोखरेललाई थिए । जब पोखरेलले मुख्य काम पाए त्यसपछि उनी अहिले सबै भन्दा बढी विवादमा परेका छन् ।
जोखिम कम गर्न शुरुमा लकडाउन गरेको व्यवस्थापन गर्ने रणनीतिहरु राम्ररी नै तय गरेको भन्दै प्रसंशा पाएका पोखरेलले जब स्वास्थ्य सामग्री खरिदको प्रकरण बाहिर आयो त्यसपछि उनीमाथि नागरिकस्तरमा व्यापक प्रश्न उठेका छन् । त्यस्तै नागरिक प्रशासनलाई अविश्वास गरेर सैनिक प्रशासनलाई कोरोना नियन्त्रणका लागि हाबी गराएको आरोप उनीमाथि छ । सेनालाई नै स्वास्थ्य सामग्री खरिदका लागि अघि सारेको र सेनाले ल्याएकै समानमा पनि कैफियत देखिएपछि उनीमाथि अनेकै प्रश्न उठेका छन् ।
३. गृहमन्त्री रामबहादुर थापा
गृहमन्त्री रामबहादुर थापा कम बोल्छन् । जस्तो उनको रिजर्भ शैली छ, गृह मन्त्रालयको काम पनि त्यस्तै छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको आरोप सरकारले खेप्नुमा गृहमन्त्री थापाले प्रहरी प्रशासन चलाउन गरेको कमजोरी पनि जोडिएको छ । त्यसपछि अहिले कोरोना नियन्त्रणकासंग जोडिएका काममा पनि गृह मन्त्रालयको भूमिका त्यति सक्रिय छैन ।
गृह अन्तर्गतका विपत व्यस्थापन सम्बन्धी पुराना संयन्त्रहरु निष्क्रिय जस्ता छन् । बरु उच्चस्तरी समन्वय समिति बनेपछिका अस्थायी संरचनाहरु कोरोनाको काममा खटिदा मन्त्रालयभित्रका अधिकारीहरु असन्तुष्ट छन् । यसकै कारण कोरोना नियन्त्रणका काममा समन्वयको अभाव भएको भन्दै आलोचना भइरहेको छ ।
४. स्वास्थ्यमन्त्री भानुभक्त ढकाल
ओली सरकारमा शुरुमा कानूनमन्त्रीको रुपमा ‘इन्ट्रि’ भएका ढकाल मन्त्रिपरिषद् फेरबदलका क्रममा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आए । कानून मन्त्रालयमा हुदा उनका काम राम्रै गरी गरेका थिए । त्यो मन्त्रालयका लागि उनको कानून पढेको पूर्व-पृष्ठभूमिले पनि काम गरेको थियो ।
जब मन्त्रालय बदल त्यसपछि उनीमाथि पनि प्रश्नका बर्षा सुरु भए । अहिले कोरोना नियन्त्रण तथा रोकथामका लागि त मुख्य नेतृत्व गर्ने मन्त्रालय नै स्वास्थ्य मन्त्रालय हो । तर यो मन्त्रालय राम्ररी नचलाएको, उपप्रधानमन्त्री पोखेरेलसंग उनीमाथि पनि स्वास्थ्य सामग्री खरिद प्रकरणका प्रश्न जोडिएका छन् । बिषयका जानकार नभए पनि उनले मन्त्रालयमा नीतिगत रुपमा यो अवस्थामा राम्रो नेतृत्व गर्न सक्थे । तर राजनीतिक नेतृत्व फितलो भयो भन्ने आरोप लागिरहेको छ । कोरोना रोकथाममा देखिएका कमजोरीहरु सर्वत्र छताछुल्ल छन् ।
५. अर्थमन्त्री युवराज खतिवडा
ओलीका अन्यन्तै विश्वास पात्र मध्ये मन्त्री युवराज खतिवडाको पनि नेकपाभित्र र बाहिर व्यापक आलोचना छ । उनले आर्थिक अनुशासन कायम गर्न चालेका कदमहरुको त प्रसंशा नै भएको हो तर जब उनले हरेक बिषयलाई तथ्यांक, डाटा र खर्चको हिसाबले मात्र हिसाबकिताब गर्न थाले त्यसले उनीसंग ठूलो समूह असन्तुष्ट छ ।
निजी क्षेत्रलाई उनले वेवास्ता गरेको आरोप छ । त्यस्तै ‘टेक्नोक्र्याट’ शैलीमा मात्र काम गर्ने राजनीतिक भाषा नबुझ्ने गरेको पार्टीका नेताहरुको आरोप छ । तीन बर्ष उनले बजेट ल्याइसके । नेकपाभित्र उनलाई हटाउनुपर्ने माग गर्ने ठूला जमात छन् तर उनी ओलीका दाहिने हात हुन् । राष्ट्रिय सभामा उनको कार्यकाल सकिएपनि अर्को कार्याकालका लागि राष्ट्रपतिले उनैलाई मनोनयन गर्ने तयारी छ ।
६. संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई
ओली सरकारको दोस्रो बर्षमा सुरु भएपछि सरकारमा इन्ट्रि भएका हुन् भट्टराई। पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले विगतमा रविन्द्र अधिकारीले अघि सारेका कामहरुलाई निरन्तरता दिन खोजे । पर्यटन बर्षको कार्यक्रममा अघि बढाउन खोज्दै गर्दा कोरोना संकट आइलाग्यो ।
तर उनले कोरोना महामारी सुरु भइसक्दा नेपालमा भ्रमण बर्षका निम्तो बाड्दै सार्वजनिक आह्वान गर्न लगाए । यो प्रकरणबाट उनको आलोचना भयो । संक्रमण बढ्दै जादा पर्यटन क्षेत्रमा व्यापक समस्या पर्यो, हवाई कम्पनी, पर्यटन व्यावसायीहरु व्यापक मारमा परे । यो क्षेत्रलाई राम्ररी नहेरेको भन्दै उनको पनि आलोचना छ ।
७. परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली
पराराष्ट्रमन्त्री ज्ञवाली ओलीका विश्वास पात्र हुन् । उनी मिठो बोल्छन् त्यसैले जनस्तरमा उनका प्रशंसक धेरै पाइन्छन् । कुटनीतिक क्षेत्रमा उनले धेरै काम गर्न नसकेपनि कुनै काम विगारेका चाही छैनन् । चीन, भारत, अमेरिका लािगतका शक्तिराष्ट्रहरुसंगमा सम्बन्धलाई उनले मन्त्रीको हिसाबले त्यसका संवेदनशिलता बुझेरै काम गरेका छन् । तर, पछिल्लो समय अमेरिकासंगको एमसिसी सम्झौतामा उनले आफ्नो अमेरिका भ्रमणका क्रमा कुनै ग्रिनसिंग्नल दिएको हो कि भन्ने शंका उब्जेको छ । भारतसँग सीमा मिचिएको सन्दर्भमा वार्तामा राख्न उनले सकिरहेका छैनन् ।
८. उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन
ओली सरकारमा सुरुदेखि नै पुनले यो मन्त्रालय सम्हालेका हुन् । धेरै प्राविधिक खालको मन्त्रालय भएकाले उनको काम सर्वासाधारणसंग दैनिक सरोरकार राख्दैनन् । त्यसैले उनीप्रति आलोचनाको मात्रा कमै देखिन्छ । तर, यस्तो कोरोना संकटमा बेला पनि विद्युत महशुल बढाउने लगायत तयारी गरेपछि उनीमाथि पनि आलोचनाको तीर सोझिन थालेको छ । विद्युत आयोजनाहरु अघि बढाउने सन्दर्भमा छिटो काम अघि बढाउन नसकेको आरोप त उनीमाथि पनि छ ।
९. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल
ओली सरकारमा सुरुमा स्वास्थ्य राज्यमन्त्रीका रुपमा इन्ट्रि भएकी मन्त्री अर्याल मन्त्रिपरिषद हेरफेरमा भूमि व्यवस्था मन्त्रालय सम्हाल्न आइपुगिन् । गुठी विधेयक लगायतका कारण सरकार अप्ठेरोमा परेपछि उनीमाथि पनि प्रश्न उठ्यो । विधेयककै कारण राजधानी काठमाडौमा ठूलो आन्दोलन चर्कियो । अतिक्रमित भारतीय भूमि नेपालको नक्सामा समेट्ने काममा भने उनको पनि भूमिका जोडियो । त्यसैले अहिले मन्त्री अर्यालमाथि प्रश्न कमै उठेका छन् । उनकै कार्यकालमा स्वदेशमै पनि अतिक्रमित सार्वजनिक जमिन फिर्ताको अभियान सुरु भएको छ । यद्यपि यो काम प्रभावकारी छैन ।
१०. खानेपानी तथा सरसफाई मन्त्री बिना मगर
ओली सरकारमा सुरुमै प्रवेश गरेकी मन्त्री मगर नेकपा अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् । त्यसैले दाहाललाई खुसी पार्न पनि उनलाई मन्त्रीमा निरन्तरता दिइदै आएको आरोप लाग्ने गरेको छ । मन्त्री मगरको परफरर्मेन्स कमजोर रहेको भन्दै विगतदेखि नै चर्चा हुने गरेको थियो ।
म्यानपावर विचौलियासँग जोगिदै काम गरिरहेका गोकर्ण विस्ट जस्ता मन्त्रीहरु बाहिरिनु पर्दा पनि मगरको पद चाही जोगिएको थियो । उनको मन्त्रालयमा अन्तर्गत सबै भन्दा ठूलो आयोजना मेलाम्ची खानेपानी आयोजना हो । त्यो आयोजनाको काम अन्तिम समयमा रोकियो । ठेकेदार नै भाग्ने काम नगर्ने हुदा पनि मन्त्रीले त्यसलाई चुस्त ढंगले सम्हाल्न सकिनन् र अझै पनि मेलम्चीको काम कहिले सकिने हो यकिन भइसकेको छैन ।
बाँकी मन्त्रीहरु
शिक्षामन्त्री गिरिराजमणि पोखरेल, बनमन्त्री शक्तिबहादुर बस्ने र युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा पनि ओली सरकारमा सुरुमै छिरेका मन्त्रीहरु हुन् । उनीहरु धेरै विवादमा आएका छैनन् । तर उनीहरुको काममा पनि पार्टीका नेताहरुले धेरै चित्त बुझाएका छैनन् । विभागीय कामहरुमा उनीहरुले सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्न नसकेको आरोप पनि छ ।
कृषिमन्त्री घनश्याम भुसाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री रामेश्वर राय यादव, कानूनमन्त्री शिवमाया तुम्बाहाङफे र महिला बालबालिका मन्त्री पार्वत गुरुङ मन्त्री बनेको ६ महिना नै भइसकेको छैन ।
पछिल्लो पटक उनीहरू सरकारमा जोडिएकाले उनीहरुले अहिलेसम्मको कार्याकाल आफ्नो मन्त्रालयको ब्रिफिङ र केही सामन्य नीतिगत अध्ययनमै विताएका छन् ।





























प्रतिक्रिया