आफ्नो समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका कांग्रेसको शेखर कोइराला समूहका नेता केदार कार्कीलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । राप्रपा भने विपक्षमा बस्ने भएको छ ।
आज बस्ने कोशी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तय गरिएको छ ।
एमालेको कोशी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए । प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पार्टीको धारणा प्रस्तुत गर्ने र कार्कीलाई विश्वासको मत दिइने उनले बताए ।
कांग्रेसका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा गत शनिवार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
यस्तै, नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि कार्कीलाई विश्वासको मत दिने जनाइसकेका छन् । राप्रपाले भने कार्कीलाई विश्वासको मत नदिने भएको छ । उसले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएको छ ।
राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाका अनुसार प्रदेशसभामा विपक्षी पनि चाहिने भएकाले राप्रपा विपक्षमा बस्नेछ।
प्रतिक्रिया