अध्यक्ष तिमिल्सिना र बेल्जियमकी सभामुखबीच भेटवार्ता

अध्यक्ष तिमिल्सिना र बेल्जियमकी सभामुखबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियमको सिनेटका सभामुख स्टेफिन डि होर्सबीच भेटवार्ता भएको छ । 

अन्तर व्यवस्थापिका संघ(आइपियु)को १४७औं महासभाका क्रममा एङ्गोलाको राजधानी लुवाण्डामा बिहीबार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेल्जियमबीचको आपसी सम्बन्ध सद्भाव, विश्वास र पारस्परिक सम्मानले चिनिएको बताउँदै दुवै मुलुकले अन्तराष्ट्रिय मञ्चहरुमा साझा धारणा राख्दै आएको स्मरण गरेका छन् । 

उनले विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा एक अर्का देशलाई समर्थन गर्दै आएको कुरामा जोड दिदै बेल्जियमले नेपालको विकास प्रयासमा विभिन्न दातृ निकायमार्फत पुर्याएको योगदानका लागि धन्यवाद पनि दिएका छन् । 

उनले भने, “नेपाल र बेल्जियमबीचको सम्बन्ध प्रगाढ बढाउन दुई देशका संसदहरुको महत्वपूर्ण भूमिका रहेको छ, संसदीय अनुभवको आपसी आदनप्रदान मार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफना नागरिकहरुको हक अधिकार सुनिश्चित गर्ने प्रकृयालाई सवल बनाउने अवसर हाम्रो सामु रहेको छ ।”

उनले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा बेल्जियमका नागरिककाबीचमा लोकप्रिय भएकाले उल्लेख्य संख्यामा पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउँन सक्दा नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । 

भेटवार्ताका क्रममा बेल्जियमकी सभामुख स्टेफिन डि होर्सले नेपाल र बेल्जियमबीच धेरै समानताहरु रहेको बताउँदै जलवायु परिर्वतनको असर कम गर्न र मानवअधिकारको प्रर्बद्धन गर्न सहकार्य गर्न सकिने कुरामा जोड दिएकी छिन् । 

कोभिडका समयमा नेपालमा सहयोग गरेको स्मरण गर्दै जलवायु परिर्वतनबाट हुने प्राकृतिक विपत्तिका घटना कम गर्न आगामी दिनमा सहयोग गर्दै जाने प्रतिबद्धता पनि जनाएकी छिन् । 

Skip This
Skip This
Logo