काठमाडौं ।
राष्ट्रियसभा सदस्य रामनारायण विडारीले धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार नभएको बताएका छन् ।
राष्ट्रियसभाको विशेष समयमा बोल्दै विडारीले नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभएपनि धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको बताएका हुन् । ‘‘विदेशीसँग विवाह गर्न पाइन्छ । के को भारतसँग मात्रै होइन् क्यानडा गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अमेरिका गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अब हामी धेरै सरिताहरु चाँडै अंगीकृत बनाएर देशमा मन्त्री बनाउने सांसद बनाउने मेलोमा छैनौँ । यति कुरा ढुक्कसँग जान्नु है ।’’, कांग्रेस सांसद जितेन्द्र नारायण देवलाई संकेत गर्दै उनले भने, ‘‘दक्षिण एसियामा कुनै पनि देश छैन निःशर्त ड्याम्म बिहे ग¥यो, ठ्याप्प नागरिक भयो, ठ्याक्क सांसद भयो, ट्याक्क मन्त्री भयो । यस्तो दक्षिण एसियामै छैन । उहाँ चाहीं पृथ्वीभन्दा बाहिरको मान्छे हो त ?’’
बैठकमा कांग्रेस सांसद देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै जनतालाई भ्रममा पार्ने गरी झुठा र वेइमानी कुरा नगर्न आग्रह समेत गरे । सांसद देवतर्फ संकेत गर्दै चीनको झोलामा नेपाललाई पार्ने कुरा बोल्ने तपाई कुन देशको झोले हो भन्दै प्रश्न गरे । उनले भने, ‘‘भारतको सम्बन्ध बिगार्ने चीनको झोलामा पर्ने आदि कुरा सदनमा बोल्ने कुरा हो ? यदि कसैले बोल्यो भने तपाई कुन देशको झोले हो भन्यो के गर्ने ? तपाईले कता पट्टि बोल्नु भयो भने के भन्ने ?’’
भारतीय नागरिकलाई मात्रै लागू हुनेगरी सरकारले ऐन नबनाएको उनले प्रष्ट पारे । विवाह गर्न कसैलाई रोकतोक नभएको उल्लेख गर्दै उनले यो प्रावधान भारतीय नागरिकलाई मात्रै लागू हुने कुरा नभएको बताए । विगतमा भएको व्यवस्थालाई परिवर्तन गरिएको भन्दै विपक्षी दलहरुले गरेको विरोधको पनि उनले खण्डन गरे । विगतका सबै कुराहरुलाई निरन्तरता दिने भए पञ्चायत शासन, राणा शासन किन बदल्या ? भन्दै उनले प्रश्न गरे ।
सरकारले वास्तविक मधेशी जनताको उत्थानका लागि नागरिकता विधेयक ल्याइएको बताए । ‘‘मधेशका नारीलाई होच्याएर विदेशबाट विवाह गर्दै फटाफाट नेता बनाएर मन्त्री बनाएर हिड्ने ? अब वंशज मधेशी नारीहरु उनीहरुको संरक्षण गर्ने ? अब वंशज मधेशीहरुको संरक्षण गर्ने चिन्ता त्यहाँको नेतालाई छैन ? ती त मन्त्री हुन आएका मान्छे हुन्छन् मधेशको हित गर्दैनन् । यताउती चाकडी गर्छन् । मन्त्री रिटायर हुन्छ । खुरुक्क घर जान्छन् त्यसैले मधेशमा विकास हुन सकेन । ’’
विदेशी बुहारीसँग किन डराएको भन्दै नारा लगाउनेले हाम्रा छोरीहरुलाई भारतले किन हेपेको, किन दासी बनाएको भन्दै किन नारा लगाउँदैनन् भन्दै उनले प्रश्न गरे । छोरी ज्वाईंलाई दिने हो की सांसद र मन्त्री बनाउन दिने हो ? उनले प्रश्न गरे ।





























प्रतिक्रिया