प्रधानमन्त्री प्रचण्डकाे दाबी- ‘जनयुद्ध पृथ्वीनारायण शाहको कर्मपछिको ठूलो कर्म’

प्रधानमन्त्री प्रचण्डकाे दाबी- ‘जनयुद्ध पृथ्वीनारायण शाहको कर्मपछिको ठूलो कर्म’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहको कर्म पछिको ठूलो कर्म माओवादी जनयुद्ध भएको दाबी गरेका छन् । 

बिहीबार काठमाडौंमा आयोजित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)द्वारा लिखित ‘यात्रा जिन्दगी जनमुक्ति सेनाको कमान्डरदेखि उपराष्ट्रपतिसम्म’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

पृथ्वीनारायण शाहको कर्म पछिको ठूलो कर्म माओवादी जनयुद्ध भएको दाबी गर्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यसलाई जति दबाउन खोजे पनि इतिहासमा पटकपटक उठिरहने बताए ।

उनले भने, ‘मैले अर्को आँट गरें । जनयुद्ध दिवस भनेर त्यसको अहिले धेरै ठूलो टीका टिप्पणी हुने गरेको छ । मलाई के लाग्छ भने, पृथ्वीनारायण शाहको कर्म पछिको ठूलो कर्म नेपालमा नेपाली जनताले अगाडि ल्याएको त्यही नै हो । जति दबाउन खोजे पनि इतिहासमा पटकपटक त्यो उठिरहन्छ । चिहानबाट त्यो फेरि उठ्छ । हजाराैं मानिसले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले अहिले एकछिन दबाए पनि फेरि उठ्छ त्यो ।’

प्रधानमन्त्री प्रचण्डले जनताको तहबाट गरिएको महान जनयुद्धको आधिकारिक र प्रमाणित व्याख्या हुन अझै बाँकी रहेको बताए ।

उनले भने, ‘पृथ्वीनारायण शाहले राज्य एकीकरणका बेला गरे पछिको अर्को ठूलो जनताको तहबाट गरिएको महान विद्रोहको दिन थियो यो, तर यसको आधिकारिक र प्रमाणित ब्याख्या हुन अझै बाँकी छ । यसमा कस्तो विचार, भावना र संस्कारले काम गरेको थियो भन्ने कुरा जस्ताको त्यस्तै स्थापित गर्न देशभित्र र देश बाहिर अझै बाँकी छ ।’

प्रधानमन्त्री प्रचण्डले पृथ्वी जयन्तीको दिनलाई पनि बिदा दिने कसैले आँट नगरेको भन्दै आफूले आँट गरेकोमा गर्व महसुस भएको उल्लेख गरे । ‘मलाई खुसी र गर्व छ यो पटक म प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीको दिन पनि बिदा दिने निर्णय गरें’ उनले भने, ‘मानिसले के गर्यो यो प्रचण्डले भन्ने पनि लाग्छ तर नेपाली इतिहासको त्यो ऐतिहासिक परिघटना थियो जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा माइलइस्टोनको भूमिका निर्वाह गरेको थियो । त्यसैले हामी ऐतिहासिक भौतिकवादी हुनुको नाताले भौतिक ढङ्गले सम्मान गर्नु हाम्रो कर्तव्य हो ।’

उनले लेखक पासाङले पुस्तक आफ्नो स्वभावमा लेखेकोले कसैले षड्यन्त्र गर्न सक्ने रहेको भन्दै यसलाई कुनै पनि अर्थमा आग्रह र पूर्वाग्रहमा हेरियो भने त्यो सत्य माथिको अन्याय हुने टिप्पणी गरे । 

प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँको स्वभावअनुसार लेख्नुभएको छ । जस्ताको त्यस्तै । अब यसलाई कसैले प्ले गर्छु भन्ने सोच्यो भने गर्न सक्छ । तर म के भन्छु भने यो उहाँको इमानदारिता र सरलताको प्रतीक हो । यसलाई कुनै पनि अर्थमा आग्रह र पूर्वाग्रहमा हेरिनु हुँदैन । हेरियो भने त्यो अन्याय हुन्छ । सत्यमाथि अन्याय हुन्छ।’

Skip This
Skip This
Logo